रामेछाप । असोज २८ गते,
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या बढेपछि नगरपालिकाको कार्यालय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई जना कर्मचारी, विद्युत प्राधिकरणका एक जना, राष्ट्रिय वाणिज्य बैंकका एक जना, दुई जना व्यवसायी, तामाकोसी बोडिङ्ग स्कुलका एक जना र प्राथमिक स्वास्थ्य केन्द्रका एक जना सहित एकैदिन १७ जनामा कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको हो । केही दिनयता मन्थली बजारमा कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि नगरपालिकामा कोरोना संक्रमण उच्च बन्दै गएको छ । मन्थली बजार क्षेत्रमा कोरोना संक्रमितको सङ्ख्या बढे पनि दिनप्रतिदिन भिड बढने क्रम घटेको छैन् ।
नागरिकहरुबाट मास्कको प्रयोग नगर्नु र सामाजिक दुरी कायम नगर्नु कोरोना संक्रमण बढ्नुको मुख्य कारणको रुपमा रहेको छ । कोरोना संक्रमणको उच्च जोखिममा परेको मन्थली नगरपालिकाले असोज २८ गतेदेखी कार्तिक २ गतेसम्म मन्थली नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले एक सूचना निकालेर मन्थली नगरपालिकाका केही कर्मचारीहरुमा समेत कोरोना देखिएकाले असोज २८ गतेबाट कार्तिक २ गतेसम्म मन्थली नगरपालिकाको कार्यालय र वडा नं ८ चिसापानीको वडा कार्यालयबाट प्रवाहा हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको गरिएको जनाउनुभएको छ।यस्तै एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मन्थली प्राथमिक केन्द्रको पनि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.सागर जर्घामगरले मंगलबार एक सूचना निकालेर अर्काे सूचना नआएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाउनुभएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्ला बाटै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या १ सय ३७ जना पुगेको छ । यसमध्ये ६७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । यस्तै रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ३६ जना र ९० जना पुरुष गरि १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म दुई हजार २४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
मन्थली नगरपालिकाको अत्यावश्यक र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक बाहेकका सेवा बन्द गरिएको सूचना हेर्नुहोस

