कोरोनाबारे नयाँ तथ्य फेला बेलैमा सचेत भएन भने हुनसक्छ यस्तो खतरा

  • प्रकाशित मिति: मंगलबार, असोज २७ २०७७
  • तामाकोशी

काठमाडौं :  कोभिड–१९ गराउने भाइरस विभिन्न बस्तु तथा सतहमा झण्डै एक महिना सम्म बाँच्न र संक्रमण गर्न सक्ने अनुसन्धानबाट फेला परेको छ। अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले हालै गरेको अनुसन्धानले कोरोना भाइरस पैसा, फोनको स्क्रिन तथा स्टेनलेस स्टिलमा २८ दिनसम्म जीवित रहन सक्ने तथ्य फेला पारेको छ।

यसअघि गरिएको अनुसन्धानले नोट तथा ग्लासमा २ देखि ३ दिनसम्म मात्र भाइरस बाँच्न सक्ने भनिएको थियो। यसैगरी प्लास्टिक र स्टेनलेस स्टिलमा ६ दिनसम्म मात्र बाँच्न सक्ने भनिएको थियो। तर नयाँ अनुसन्धानले थप सचेत र सतर्क रहनुपर्ने देखाएको छ।



कोभिड सार्स –२ नाम दिइएको यो भाइरस सोचेभन्दा निकै लामो समयसम्म जीवित रहने तथ्य फेला परेको अनुसन्धानकर्ताहरुले बताएका छन्। मुख्य रुपमा कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा अर्को व्यक्तिमा सर्ने गर्दछ।

साथै हावामा तैरिएका संक्रमित व्यक्तिका छिटाबाट पनि भाइरस संक्रमण हुन सक्ने तथ्य फेला परेको छ। यसै गरी संक्रमित व्यक्तिले छोएको प्लास्टिक तथा फलामका बस्तु अर्को व्यक्तिले छुँदा पनि संक्रमण फैलिने सम्भावना रहेको बताइएको छ।