रामेछाप । असोज १७ गते,
रामेछापमा विभिन्न समयमा कोरोना संक्रमित भएका ५७ जनाले कोरोनालाई जितेका छन् । जिल्लाबाटै स्वाब संकलन गरिएका र संक्रमण भएका ७४ जना मध्ये शनिबारसम्म ५७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा एकजना , मन्थली नगरपालिकामा एकजना , रामेछाप नगरपालिकामा दुईजना , उमाकुण्ड गाउँपालिकामा दुईजना , लिखुतामाकोसी गाउँपालिकामा तीनजना र गोकुलगंगा गाउँपालिकामा आठजना गरि १७ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइसोलेशनमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५०६ , रामेछाप नगरपालिकामा १८१ , उमाकुण्ड गाउँपालिकामा १६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ५४१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये ४१ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ११ जना महिला र ३२ जना पुरुष गरि ४३ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बासोबास गर्ने महिला २२ जना र ६७ जना पुरुष गरि ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछापका ५७ जना संक्रमितले कोरोनालाई जितेँ
- प्रकाशित मिति: शनिबार, असोज १७ २०७७
- तामाकोशी