रामेछाप । असोज १४ गते,
कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारका लागि रामेछाप जिल्लामा तीन करोड ६८ लाख बढी रुपैयाँ खर्च भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि जिल्लाको खाँडादेवी गाउँपालिकाले सबैभन्दा र दोरम्बा गाउँपालिकाले सबैभन्दा रकम खर्च गरेका छन् । जिल्लाका सवै पालिकाहरुले २०७६ चैत्र ११ गतेदेखि अहिलेसम्म क्वारेन्टीन निर्माण तथा व्यवस्थापन,औषधि खरिद , अलपत्रमा परेका नागरीकहरुको उद्धार लगायतमा उक्त रकम खर्च गरेका हुन् । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले कोरोना रोकथाम , नियन्त्रण तथा उपचारका लागि ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ बजेट खर्च गरेको छ । मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयालले १४ वडा रहेको नगरपालिकामा कोरोना पुर्व तयारी , औषधि तथा सर्जिकल सामाग्री खरिदमा सबैभन्दा बढि रकम खर्च भएको बताउनुभयो । यस्तै रामेछाप नगरपालिकाले कोरोना रोकथाम , नियन्त्रण र उपचारका लागि ६९ लाख २० हजार ९ सय ५२ रुपैयाँ खर्च गरेको छ । ९ वडा रहेको रामेछाप नगरपालिकामा सबैभन्दा बढी क्वारेन्टीन निर्माण तथा व्यवस्थापनमा खर्च भएको स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले बताउनुभयो । क्वारेन्टीन निर्माण तथा व्यवस्थापनमा २५ लाख ९५ हजार ७१० , आईसोलेसन निर्माण तथा व्यवस्थापनमा ९ लाख ८९ हजार ४८६ रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । खाँडादेवी गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रण र व्यवस्थापनमा ७५ लाखभन्दा बढी रकम खर्च गरेको छ । गाउँपालिकाले कारोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा ७५ लाख ४ हजार ४ सय ४४ रुपैयाँ बराबरको रकम खर्च गरेको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी मास्क, थर्मलगन, सेनिटाइजर, पीपीइ सेट, औषधी खरिदमा ५३ लाख ३९ हजार ९ सय ४६ रुपैयाँ बराबरको रकम खर्च भएको बताउनुभयो ।
गोकुलगंगा गाउँपालिकाले कोरोना रोकथाम , नियन्त्रण र उपचारका लागि ४१ लाख ८२ हजार ६५९ रुपैयाँ बजेट खर्च गरेको छ । ६ वडा रहेको गोकुलगंगा गाउँपालिकामा सबैभन्दा बढी औषधी एवं मेडिकल सामाग्री खरिदमा २० लाख ६२ हजार ८२२ रुपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक जागिर रायले जानकारी दिनुभयो । दोरम्बा गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनमा जम्मा १५ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले कोरोना संक्रमणको नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा १५ लाख रुपैयाँ बराबरको रकम खर्च गरेको हो । उक्त रकम मास्क, थर्मलगन, सेनिटाइजर, पिपिई सेट खरिद एवम् आइसोलेसन तथा क्वारेन्टीन व्यवस्थापन र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको खाजा, खाना लगायतमा खर्च भएको दोरम्बा गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक कमल भट्टराईले जानकारी दिनुभयो । लिखु तामाकोशी गाउँपालिकाले कोरोना रोकथाम , नियन्त्रण र उपचारका लागि २७ लाख बढी खर्च गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जय प्रकाश रायले यसमध्ये मास्क, थर्मलगन, सेनिटाइजर, पिपिई सेट खरिदमा मात्रै लगभग १७ लाख रकम खर्च जानकारी दिनुभयो । उमाकुण्ड गाउँपालिकाले कोरोना संक्रमण रोकथाम , नियन्त्रण र व्यवस्थापनमा ६७ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र पैकडाल कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा अलपत्रमा परेका नागरिकहरुको उद्धार र पालिका अन्तर्र्गतका दीर्घ रोगीहरुलाई निःशुल्क औषधी वितरण लगायतका कार्यक्रममा ६७ लाख ३५ हजार ९८४ रुपैयाँ बराबरको रकम खर्च बताउनुभयो । सुनापती गाउँपालिकाले कोरोना भाइरस रोकथाम , नियन्त्रण र उपचारका लागि २७ लाखभन्दा बढी रकम खर्च गरेको छ । गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अर्जुन श्रेष्ठले मास्क, थर्मलगन, सेनिटाइजर, पिपिई सेट खरिद एवम् आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको खाजा, खाना लगायतका शीर्षकमा उक्त रकम खर्च भएको बताउनुभयो ।