रामेछाप । असोज १२ गते,
नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन रामेछापको मन्थली नगरपालिकाले भैसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिदै छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैसी फार्म एवं कृषकहरुलाई भैसीलाई सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने भएको हो । नगरपालिकाले कार्यविधि अनुसार यस आर्थिक बर्षमा ६० वटा भैसीहरुलाई सुत्केरी स्याहार प्रोत्साह भक्ता उपलब्ध गराउने सूचना जारी गरेको छ । नगरपालिकाद्धारा जारी सूचना तीस दिनभित्र आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न आग्रह गरिएको छ । मापदण्ड नपुगेका, म्यादपछि प्राप्त भएका र बढीमा तीन माउ भैसी भन्दा बढी संख्यामा प्राप्त भएका प्रस्तावलाई छनौट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख गरिएको छ । भैसीको सुत्केरी भक्ता प्राप्त गर्नको लागि भैसी सुत्केरी भएको निवेदन, वडा कार्यालयको सिफारिस, सम्बन्धित भैसी धनी कृषकको नागरिकता, मान्यता प्राप्त पशु बीमा कम्पनीबाट भैसी बीमा गराएको पोलिसिको प्रतिलिपि आवश्यक पर्ने मन्थली नगरपालिको पशु सेवा शाखाले बताएको छ ।
दुधमा आत्मनिर्भर बनाउन भैसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता
- प्रकाशित मिति: सोमबार, असोज १२ २०७७
- तामाकोशी