स्थानीय सरकार बनेपछि रामेछापमा ३ हजार ३८५ किलोमिटर सडक निर्माण

  • प्रकाशित मिति: आइतबार, असोज ११ २०७७
  • तामाकोशी

रामेछाप । असोज ११ गते
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा स्थानीय तहको सरकार बनेपछि गएको असारसम्म ५१९ किलोमिटर सडक निर्माण भएको छ । मन्थली नगरपाािलकाकी उपप्रमुख माया कुमारी कार्कीले यो अवधीमा ४५० किलोमिटर कच्ची , साढे ३८ किलोमिटर कालोपत्रे र ३१ किलोमिटर ग्राबेल सडक निर्माण भएको जानकारी दिनुभयो । नगरपालिका भित्रका टोल र बस्तीहरु सडको पहँुचमा पुगिसकेका छन् , अब नगरपालिकाले नयाँ सडक बनाउने भन्दा भएको सडकको स्तरउन्नतीमा जोड दिएको छ उपप्रमुख कार्कीले भन्नुभयो । जिल्लाको अर्काे रामेछाप नगरपालिकामा स्थानीय सरकार बनेपछि ३०० किलोमिटर नयाँ सडक निर्माण भएको छ । नगरपालिकाका इन्जिनियर कुसुम भट्टराईले जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेपछि ५०० मिटर सडक कालोपत्र भैसकेको र झण्डै तीन किलोमिटर सडकमा कालोपत्रेको काम भैरहेको जानकारी दिनुभयो ।
स्थानीय सरकार बनेपछि सडक निर्माणको कामले प्राथमिकता पायो , रामेछाप नगरपालिकामा हालसम्म सडक निर्माणका लागि लगभग १७ करोड बढी रकम खर्च भैसक्यो उहाँले भन्नुभयो । रामेछाप नगरपालिकामा स्थानीय सरकार बन्नुअघि र बनेपछि गरि ५९४ किलोमिट सडक निर्माण भएका छन् । यसमध्ये अहिलेसम्म १३.५ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । दुई नगपालिका र ६ गाउँपालिका रहेको रामेछापमा स्थानीय सरकार बनेपछि ३ हजार ३८५ किलोमिटर सडक निर्माण भएका छन् । रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठ(कुशल)को पहलमा जिल्लाका रणनैतिक सडकको कालोपत्रे र ग्राबेल गर्ने काम भैरहेको छ । त्यसैगरी बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा मुख्य सडकहरुको कालोपत्रे गर्ने काम अगाडि बढीरहेको छ । जिल्लामै सबै भन्दा बढी ७१६ किलोमिटरसडक खाँडादेवी गाउँपालिकामा निर्माण भएको छ भने सबै भन्दा कम सुनापती गाउँपालिकामा २७६ किलोमिटर सडक निर्माण भएको छ । खाँडादेवी गाउँपालिकाकी उमाध्यक्ष मखमली श्रेष्ठले नयाँ सडक निर्माण गर्ने गाउँपालिकाको योजना नरहेको बताउनुभयो ।
स्थानीय सरकर बनेयता दोरम्बा गाउँपालिकामा हालसम्म १३० किलोमिटर सडक निर्माण भएको छ । गाउँपालिकाकी उपाध्यक्ष कृसला घिसिङले हालसम्म गाउँपालिकाभर झण्डै ३०० किलोमिटर सडक निर्माण भएपनि स्थानीय सरकार बनेपछि १३० किलोमिटर सडक निर्माण भएको बताउनुभयो । उहाँले गाउँपालिकाले अहिले ए,बी,सी गरि तीनवटा ग्रेड बनाएर सडक निर्माणको काम गरिरहेको बताउनुभयो । लिखु तामाकोसी गाउँपालिकामा ४५० किलोमिटर सडक निर्माण भएको छ । गाउँपालिकाका उपाध्यक्ष दीपशिखा दाहालले गाउँपालिका अहिले सडकलाई व्यवस्थित बनाउने योजनामा जुटेको बताउनुभयो । गोकुलगंगा गाउँपालिकामा हालसम्म ४०० किलोमिटर सडक निर्माण भएको छ । गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठ नेवारले स्थानीय सरकार बनेपछि ४०० किलोमिटर भन्दा बढी सडक निर्माण गरिएको बताउनुभयो । पालिकाभित्रका बस्ती बस्तीमा सडक पुर्याइसकेका छौ, अब त्यसको थप व्यवस्थापनमा लाग्छौ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । जिल्लाको उमाकुण्ड गाउँपालिकामा ५९४ किलोमिटर सडक निर्माण भएको छ । गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले सवै वडाका नागरिक सडकको पहँुचमा पुगिसकेकाले अब खनिएका सडको व्यवस्थापनमा गाउँपालिका लागेको बताउनुभयो ।