घट्यो सुनको भाउ

  • प्रकाशित मिति: शनिबार, असोज १० २०७७
  • तामाकोशी

काठमाडौं–अमेरिकाले नयाँ आर्थिक वर्ष सन् २०२१ का लागि अर्थतन्त्रलाई उकास्ने गरी ‘स्टिमुलस प्याकेज’ ल्याउने तयारी गरेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेको छ। अमेरिकी अर्थतन्त्र कमजोर हुँदा विश्व बजारमै सुनको भाउ उचालिएको थियो। कोभिडका कारण विश्व अर्थतन्त्र नै अनिश्चिततातर्फ धकेलिए पछि लगानीकर्ताहरु सुनमा लागानी गर्न केन्द्रित भएका थिए। यसै क्रममा अमेरिकी अर्थतन्त्र कमजोर हुँदा डलर नै सबैभन्दा कमजोर भयो। डलर कमजोर हुनेबित्तिकै सुनको भाउ उकासिने गरेको पाइन्छ।

तर अमेरिकाले नयाँ आर्थिक वर्ष आउन केही महिना अगाडि नै बजेटको तयारी सुरु गरेको छ। बजेटमा डुबेको अर्थतन्त्रलाई उकास्ने गरि ठूला–ठला राहतका प्याकेज ल्याउने तयारी गरिएको छ। यससँगै सुनको मूल्यमा भारी गिरावट आएको हो। एक साताकै अवधिमा प्रति औंन्स ८० डलरभन्दा धेरैले तल झरिसकेको छ। कतिपय विश्लेषकहरुले यसलाई ‘करेक्सन’ भएको भन्दै विश्लेषण गरेका छन्। बजार अस्वाभाविक रुपमा उचालिएका कारणले पनि करेक्सन भएको प्राविधिक विश्लेषकको विश्लेषण छ। तर कोभिडले पार्ने असरलाई पन्छाउदै अर्थतन्त्र चलायमान बनाउनुपर्ने निष्कर्षमा शक्तिशाली देश पुगेका छन्।