रामेछापमा सामाजिक सुरक्षा भत्तालाई बैकिङ प्रणालीमा लगिँदै

  • प्रकाशित मिति: सोमबार, भाद्र २९ २०७७
  • तामाकोशी

रामेछाप । भदौ २९ गते,
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलका अनुसार हाल ५ हजार ५ सय ४५ जनाले भत्ता बुझ्दै आएका छन् । नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले वडा नं १ मा दशै अगाडिनै र अन्य वडाहरुमा पनि चालु अर्थिक वार्षको अन्त्यसम्म बैकिङ प्रणालीबाटै भत्ता वितरण गर्नेगरी काम भैरहेको बताउनुभयो । ‘मन्थली नगरपालिकाका सबै १४ वटै वडामा बैकिङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउछौ’, उहाँले भन्नुभयो । जिल्लाको दोरम्बा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता यसै आर्थिक वर्षबाट बैकिङ प्रणालीबाट वितरण गर्दै छ । यसका लागि गाउँपालिका र ग्लोबल आइएमी बैंकबीच भत्ता बैंक मार्फत वितरण गर्ने सम्झौता भैसकेको छ । दोरम्बा गाउँपालिकाका अध्यक्ष मोक्तानले गाउँपालिकाभित्र वितरण गरिने सबै सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गरिने बताउनुभयो । ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई बैंकले घरघरमै पुगेर सेवा उपलब्ध गराउने छ । अहिले सो गाउँपालिका भित्र २ हजार ६ सय भन्दा बढीले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेपछि रामेछापका सबै स्थानीय तह बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यमा जुटेका छन् ।
सुनापती गाउँपालिकाले सामाजिक सुरुक्षा भत्तालाई बैँकिङ् प्रणाली मार्फत भुक्तानी गर्दै छ । चालु आर्थिक वर्षदेखिनै बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका र सिटिजन्स् बैंकबीच सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले बैकिङ प्रणाली मार्फत यस बर्षबाट सामाजिक सुरक्षा भत्ता वितरणको काम अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका पाँच वटा वडामा यस आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ताको लागि सात करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सुनापती गाउँपालिकाको पाँच वटा वडामा २ हजार ४ सय ४० जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।
जिल्लाको रामेछाप नगरपालिका पनि चालु आर्थिक वर्षको अन्त्यसम्म सबै वडाबाट वितरण हुने सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने तयारीमा लागेको छ । नगरपालिका प्रमुख नर बहादुर थापा मगरले यो कार्यलाई द्रुत गतिमा अगाडि बढाइएकोे बताउनुभयो । नगरपालिकाभित्र रामेछाप बजार र साँघुटार बजारमा बैक छन् । ‘कुन वडालाई कुन ठाउँको बैंक पायक पर्छ, अध्ययन गरी काम अघि बढाउँछौँ’, नगर प्रमुख मगरले भन्नुभयो । खाँडादेवी गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने निर्णय अनुसार बैंकसँग सम्झौता गरिसकेको छ । गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले नौ वटै वडामा सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गरिने बताउनुभयो । उहाँका अनुसार खाँडादेवी गाउँपालिकामा ३ हजार २ सय ३१ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । जिल्लाको उमाकुण्ड , गोकुलगंगा ,र लिखुतामाकोसी गाउँपालिका पनि अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारीमा लागेका छन् । जिल्लाको सवै स्थानीय तहमा बैंकका शाखा पुगिसकेका छन् । सरकारले २०७३ सालबाटै सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली शुरु गरेको थियो । तर, सबै स्थानमा बैंकको पहुँच नपुगेका कारण यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।