सिन्धुपाल्चोक, भदौं २८ गते । बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ ।
नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । दुई जनाको सनाखत हुन बाँकी छ ।
पहिरोमा पुरिएर ३१ जना बेप’त्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् । पहिरोमा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन् । उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका छन् ।