हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले तीनवटा वडाबाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ । ७२ बर्षकी बेदमाया खनालले वडा नम्बर १, ३ र ७ बाट अलग अलग ज्येष्ठ नागरिक र एकल महिला भत्ता लिँदै आएको खुलेको हो । वडा नम्बर ३ बाट एकल महिला भत्ता र अरु दुई वडाबाट ज्येष्ठ नागरिक भत्ता लिएको पाइएको छ ।
तीनवटै वडाबाट सामाजिक सुरक्षा भत्ता बुझेको सूचीमा उल्लेखित खनालको नाम र नागरिकता नम्बर मिलेको छ । उनले मनहरीमा रहेको मुक्तिनाथ विकास बैंकको एउटा बैंक खाताबाट २४ हजार रुपैयाँ र अर्को खातामा ८ हजार रुपैयाँ बुझेको पाइएको छ । गत आर्थिक बर्ष २०७६/७७ को अन्तिम चौमासिक र चालु बर्ष २०७७/७८ को प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता तीनवटै वडाबाट एउटै व्यक्तिको खातामा भुक्तानी भएपछि बैंकले गाउँपालिकालाई खबर गरेपछि घटना बाहिरिएको हो । वडाध्यक्षको आमाले तेहोरो सामाजिक सुरक्षा भत्ता बुझेको पाइएपछि स्थानीयले गाउँपालिका कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । । ‘मनहरीका सचेत युवाहरु’ को नामबाट दिइएको उजुरीमा वडाध्यक्ष खनालले पदको दुरुपयोग गरी आमालाई तेहोरो भत्ता दिलाएको भनी कारबाही गर्न माग गरिएको छ ।
‘मनहरी गाउँपालिका वढा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमा रहनुभएकी वृद्धाले यसरी तीनवटै वडाबाट एकसाथ भत्ता लिने कुरा प्रशासनिक ढंगले मिलाउन सक्नुहुन्न भन्ने हामीले बुझेका छौं । यो काममा उनका छोरा एवं वडाध्यक्ष शिवप्रसाद खनालको भूमिका रहेको स्पष्ट बुझिन्छ’ उजुरीमा भनिएको छ । एकै व्यक्तिलाई फरक फरक शीर्षकमा भत्ता दिन सहयोग गरेको भन्दै वडा नं १, ३ र ७ का वडा अध्यक्ष र सचिवलाई कारवाही गर्न माग गरिएको छ ।