राष्ट्रिय दलित पत्रकार संघ रामेछापद्धारा प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण

  • प्रकाशित मिति: आइतबार, भाद्र २१ २०७७
  • तामाकोशी

रामेछाप । भदौ २१ गते,
राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति रामेछापले आफ्ना कार्यसमिति सदस्य सहित २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । आइतबार सदरमुकाम मन्थलीमा एक कार्यक्रम गरि संघले प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको हो । संघका जिल्ला अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा संघका सम्पूर्ण कार्यसमितिका सदस्यहरु, बागमती प्रदेश सदस्य र अन्य क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरिएको हो । जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नं २ हिलेचौर, मझुवाका स्थानीय तथा समाजसेवी कल्याणरत्न कार्कीको आर्थिक सहयोगमा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत दलित पत्रकारहरुलाई संघले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले जारी गरेको बन्दाबन्दी, निषेधाज्ञामा पत्रकारहरुलाई समाचार संकलनमा बाहिर हिड्डुल गर्न सहज् होस् भन्ने उदेश्यले प्रेस ज्याकेट र आवश्यक स्वास्थ्य सुरक्षाका लागि माक्स , सेनिटाइजर वितरण गरिएको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लेख बहादुर विकले जानकारी दिनुभयो । आगामी दिनमा राष्ट्रिय दलित पत्रकार संघले पत्रकारहरुको हक र अधिकारको लागि भूमिका खेल्ने उहाँको भनाई थियो । त्यस्तै राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेश सदस्य गम्भिर बिकले जिल्ला कार्यसमितिले यो महामारीको समयमा अत्यावश्यक स्वास्थ्य सामाग्री सहित प्रेस ज्याकेट वितरण गरेर महत्वपुर्ण काम गरेको बताउनुभयो । सुरक्षित भएर आफ्नो काममा लाग्न समेत उहाँले समितिलाई आग्रह गर्नुभयो । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापले संघमा आवद्ध १० जना र जिल्लामा क्रियाशिल १० जना पत्रकार गरि २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।