रामेछाप , भदौ १९ गते,
रामेछापमा पहिलो पटक प्रहरीमा कोरोना भाइरस देखिएको छ । जिल्लामै पहिलो पटक पाँचजना नेपाल प्रहरी सहित थप ६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लाबाट विभिन्न समयमा स्वाब संकलन गरि परीक्षणका लागि पठाइएका पाँचजना प्रहरी र एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत २५,२५,३९,४३ र ४५ वर्षका पाँचजना प्रहरी र तामाकोशी अस्पतालमा कार्यरत ५२ वर्षीया महिला कर्मचारी रहेका छन् । यो संगै जिल्लाबाट स्वाब पठाइएका ४३ जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये ३३ जना कोरोना मुक्त भैसकेका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला ९ जना र २७ जना पुरुष गरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६२ जना , मन्थली नगरपालिकामा ३ सय ५४ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार २ सय ११ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये विभिन्न समयमा स्वाब संकलन गरिएका अब १६ जनाको रिपोर्ट आउन बाँकि छ भने १ हजार १ सय ५२ जनाको नेगेटिभ रिपोर्ट आएको छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र १२ जना पुरुष गरि १५ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय १४ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा पहिलो पटक प्रहरीमा कोरोना देखियो,संक्रमितको संख्या ४३ पुग्यो
- प्रकाशित मिति: शुक्रबार, भाद्र १९ २०७७
- तामाकोशी