रामेछाप । भदौ १५ गते,
रामेछाप जिल्लाका विभिन्न भागमा विगतमा तामाखानी सञ्चालनमा थिए । स्थानीय उपकरण र प्रविधिको प्रयोग गरी ती खानीबाट तामाको धाउ निकाली गाउँमै तामाका भाँडा वर्तन बनाउने गरिन्थ्यो । अहिले ती सबै तामा खानीहरु बन्द छन् । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको खिम्ति, सैपु, बिजुलीकोट लगायत ठाउँ, खाँडादेवीको पकरबास धारापनी खानी डाँडा, माकादुम, गागल, गोकुलगंगाको नामाडी, उमाकुण्डको प्रिति, भूजी दोरम्बा र सुनापति गाउँपालिकाका विभिन्न ठाउँ तथा रामेछाप नगरपालिकाको हिमगंगा लगायत ठाउँमा विगतमा तामा खानी सञ्चालनमा थिए । यी खानीमा प्राय मगर समुदायका मानिसले काम गर्ने गर्थे । खानीमा सुरुङ बनाइ भित्र छिरेर तामाको धाउ निकाल्ने गरिएको स्थानीय बुढापाका बताउँछन् । छिनोले खोपेर सुरुङ बनाइ तामाको धाउ भएको भागसम्म जाने सुरुङ मार्ग बनाइन्थे । त्यसरी तामा निकालेका सुरुङ अहिले पनि ठाउँ(ठाउँमा देख्न सकिन्छ । जिल्लाको खिम्तिको शिवालायमा सञ्चालन भएको तामाखानीबाट उत्पादन भएको तामाले बनेका भाँडा अहिले पनि खिम्तिका धेरै घरमा चलन चल्तिमा छन् । शिवालयमा तामा निकालिएका खानीका सुरुङ अध्यावधिक छन् । विगतमा हाम्रा पुर्खासँग न साधन थियो न प्रविधि थियो , त्यस्तो अवस्थामा पनि तामा खानी सञ्चालनमा थिए, अहिले साधन, स्रोत प्रविधि सबै छ, किन सञ्चालन गर्न सकिँदैन तामा खानी ?’, पूर्वसांसद् तथा नेकपा केन्द्रीय सदस्य देवशंकर पौडेल बताउनुहुन्छ । रामेछापमा विगतमा थुप्रै तामा खानी सञ्चालन भएका र ती खानीबाट निकालिएको तामाका भाँडा अहिले पनि घरघरमा भएको उहाँको भनाई छ । विगतमा सञ्चालनमा आएर बन्द भएका यस्ता खानी मात्रै सञ्चालन गर्ने हो भने नेपालको आर्थिक क्षेत्रमा कायापलट हुने उहाँले बताउनुभयो । विगतमा सञ्चालनमा रही हाल बन्द भएका तामा खानी सञ्चालनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । विज्ञान र प्रविधिको विकास नहुँदा पनि सञ्चालनमा रहेका ती खानी प्रविधिको विकास भएपछि भने बन्द छन् । ती सुरुङमा अझै पनि भित्रसम्म सजिलै छिर्न सकिने स्थानीय भोजराज कँडरिया बताउँछन् । अहिले ती सुरुङ केटाकेटीलाई खेल्ने ठाउँ बनेका छन् । केही सुरुङ भने मोटरबाटो खन्दा माटोले पुरिएका छन् । तामाको मूल्य अहिले विश्व बजारमा निक्कै बढेको छ । नेपालमा मात्र होइन विश्व बजारमा नै तामाको राम्रो माग र भाउ छ । यस्तो अवस्थामा बन्द तामा खानी सञ्चालनमा ल्याउन सके रोजारी गुमाएकालाई रोजगारी दिन र देशको अर्थतन्त्र विकासका ठूलो योगदान पुग्ने देखिन्छ ।
तामा खानी सञ्चालनमा सम्बन्धित निकायको ध्यान गएन
- प्रकाशित मिति: सोमबार, भाद्र १५ २०७७
- तामाकोशी