स्थानीय सरकारले काम गरेनन् भन्नेका लागि दरिलो जवाफ रामपुर

  • प्रकाशित मिति: बिहिबार, भाद्र ११ २०७७
  • तामाकोशी

रामेछाप । भदौ ११ गते,
रामेछाप नगरपालिका वडा नं ५ रामपुर स्थानीय सरकारका तल्लो निकायले प्रभावकारी काम गरेनन् भन्नेहरुका लागि दरिलो जवाफ बनेको छ । नगरपालिका भए पनि दुर्गम पहाडी बस्ती हो रामपुर । साक्षरताको हिसाबले पनि अहिले जो सक्रिय छ, यो पुस्ता त्यति साक्षर हैन । तथापि उनीहरुको लगन, इमान्दारीता र मेहनेतले सो वडा नमुना कार्यालय बनेको छ । गाउँको बीचमा वडा कार्यालयको सानो भवन छ । नगरपालिकाले छुट्याएको थोरै पैसा र स्थानीयको श्रमले खडा भएको सो भवनलाई जनप्रतिनिधि र स्थानीयवासी मन्दिर जत्तिकै मान्छन् । ‘सबैले मन्दिर जत्तिकै मानेका छौँ र त यो यति सफा र सुन्दर छ’, स्थानीय सामाजिक अगुवा रमेश तामाङ भन्नुहुन्छ । वडा कार्यालयमा कम्पाउण्ड लगाइएको छ । गेटबाट छिर्ने वित्तिकै चिटिक्क परेको सानो चौर छ । त्यसैकै आगाडि कार्यालय छ । छेउमा महिला र पुरुषको लागि छुट्टै शौचालय छ, अनि सँगै वाथरुम र महिलाको लागि सेनिटरी प्याड फेर्ने छुट्टै कक्ष पनि । सायद यो सुविधा सहरका सुविधा सम्पन्न कार्यालयले पनि दिन सकेका छैनन् । कार्यालयमा छिर्ने वित्तिकै प्यासेजमा टेलिभिजनको पर्दामा वडाको वृत्तचित्र बझिरहेको हुन्छ । एकैछिन त्यहाँ उभिएर हेर्ने वित्तिकै सो वडाको भूगोल, धर्म, संस्कार, रितिथिति, बस्तुस्थिति सबै कुराको ज्ञान हुन्छ । कार्यालयमा पस्ने वित्तिकै कुन योजना कहाँ कति पैसामा सञ्चालन भइरहेको छ भन्ने फेहरिस्त कार्यालयमा टाँसिएको छ । कार्यालयमा योजनाको फेहरिस्तदेखि सामाजिक सुरक्षा भत्ता लिनेसम्मको नाम टाँस गरिएको छ । हरेक साल नयाँ आर्थिक वर्ष सुरु भएपछि सो आर्थिक वर्षमा वडामा आएको बजेट र बजेट खर्च हुने योजनाको नाम तथा लागत फ्लेक्स बोर्डमा प्रिन्ट गरेर कार्यालयमा टाँस गरिने गरेको वडाअध्यक्ष भिमबहादुर तामाङले बताउनुभयो । सो बोर्डमा उपभोक्ता समितिको नाम समेत समावेश हुन्छ । तामाङका अनुसार सामाजिक सुरक्षा भत्ता लिनेको नाम पनि कार्यालयको भित्तामा टाँस गरिएको छ । त्यो प्रिन्ट पनि हरेक वर्ष नाम थपघटसँगै परिवर्तन हुन्छ । वडा कार्यालयको भित्तामै छात्रावृत्ति लिने विद्यार्थीको नाम पनि फ्लेक्स प्रिन्टमा टाँस गरिएको छ । वडा कार्यालयबाट जे जति काम हुन्छन र भएका छन् ती सबै कार्यालयको भित्तामै देखिन्छ । अहिले गरिएका काम रचनात्मक काम भएकाले यी सबै काम गर्न बजेट भन्दा पनि काम गर्ने इच्छाशक्ति चाहिने वडाअध्यक्ष तामाङको ठम्याई छ । सो वडामा पारदर्शितको यो अभ्यायासको हाल जिल्ला प्रशासन कार्यालय रामेछापमा नायव सुब्बाको पदमा कार्यरत लक्ष्मण भुजेल गाविस सचिवको रुपमा कार्यरत रहेको समयमा सुरुवात गरिएको थियो । गाविस सचिवले मृत्यु भएका मानिसहरुको नामको भत्ता समेत किर्ते गरेर खान्छन् भन्ने आरोप लागेपछि सारै चित्त दुखेर भत्ता लिनेको नाम भित्तामै टाँसेर सार्वजनिक गर्नका लागि सो अभ्यास सुरु गरेको भुजेल बताउनुहुन्छ । त्यस पछि क्रमश थप सूचना सार्वजनिक गर्ने क्रम विकास भएर अहिले वडा यो अवस्थामा पुगेको छ ।