गाउँपालिका अध्यक्ष खड्कालाई थप १० दिन हिरासतमा राख्न अनुमती

  • प्रकाशित मिति: शुक्रबार, भाद्र ५ २०७७
  • तामाकोशी

रामेछाप । भदौ ५ गते,
उपभोक्ता समितिका एक अध्यक्षलाई बन्धक बनाई जबरजस्ती खाली चेकमा हस्ताक्षर गराउनखोज्ने रामेछापको लिखुतामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालई अनुसन्धानको लागि अदालतले शुक्रबार १० दिनको म्याद थप गरेको छ । यस अघि उनलाई अदालतले सात दिन हिरासतमा राखि अनुसन्धान गर्न अनुमति दिएको थियो । लिखुताकोसी गाउँपालिकाको धोबीबजारमा नाला निर्माण तथा ग्राभेल गर्न बनेको उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई गाउँपालिकाको कोठामा थुनेर अध्यक्षले जवरजस्ती खाली चेकमा दस्तखत गराउने प्रयास गर्नुभएको थियो । त्यहाँबाट उम्किएका घिसिङले प्रहरीमा जाहेरी दिनुभएको थियो । सो घटनामा संलग्न भएको आरोपमा अध्यक्षसँगै गिरफ्तारीमा परेका लालबहादुर तामाङलाई पनि १० दिनकै म्याद थपिएको छ । दुवै जना जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन् । उनीहरु माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।