रामेछापमा भदौ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी

  • प्रकाशित मिति: बिहिबार, भाद्र ४ २०७७
  • तामाकोशी

रामेछाप । भदौ ४ गते,
रामेछापमा अनिश्चितकालीन निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला प्रशासनले बुधबार एक सूचना मार्फत जिल्लाभित्र निरन्तर कोरोना संक्रमण बढी रहेको र उच्च स्तरमा बढ्ने जोखिम रहेकोले बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि भदौ १३ गते शनिबार मध्यरात १२ बजेसम्म  रामेछाप जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माद्वारा जारी निषेधाज्ञामा अत्यावश्यक सेवा खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दुध, तरकारी, फलफूल, विद्युत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय, सञ्चालन गर्न रोक लगाइएको छ । औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । अत्यावश्यक कार्यमा मास्क विना घर बाहिर निस्कन पनि रोक लगाइएको छ । फुटपाथ र खुल्ला ठाउँ, ठेलागाडा साइकल, हाटबजारमा पसल व्यापार सञ्चालन गर्न निषेध गरिएको छ ।
एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधन बाहेक सबै सार्वजनिक, निजी सवारी साधन मोटरसाइकल समेत सञ्चालन गर्न रोक लगाइएको छ । प्रशासनले शैक्षिक संस्थाहरु, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल, सैलुङ्ग, पार्लर, हेल्थ क्लब, खेलकुद कार्य गर्न निषेध गरेको छ । दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न पनि रोक लगाइएको छ । होटल, रेष्टुरेन्ट सञ्चालन गर्न समेत प्रतिबन्ध लगाइएको छ । जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहबाट बेलुका सात बजेदेखि बिहान पाँच बजेसम्म पैदल आवात जावत गर्न समेत रोक लगाइएको छ । सहकारी, वित्तीय संघरसंस्थाले समुदायमा गई बचत संकलन गर्न पाउने छैनन् । अत्यावश्यक सेवाका र मालवाहक ढुवानी साधन एवं जिल्लाको अनुमति विनाका सवारी साधन जिल्ला भित्र प्रवेश गर्न रोक लगाइएको छ । स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य बस्तु विक्री गर्ने, खाद्यान्न लगायतका अत्यावश्यक सेवाका पसल बिहान पाँच बजेबाट नौ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सबै सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्न र सो बाहेकका अन्य कर्मचारीलाई सुरक्षित घरबाटै कार्य गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउनु पर्ने प्रशासनले आदेश दिएको छ। सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउन पनि भनिएको छ । बैक, वित्तीय संस्था,सहकारी कार्यालयर बिहान नौ बजेदेखि दिउँसो एक बजेसम्म मात्र सञ्चालन हुने भएका छन् । अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, म्याद नाघेका सामान विक्रि वितरण गर्ने, आपूर्तिमा अवरोध गर्नेलाई कडा कारवाही गरिने समेत प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको सूचना हेर्नुहोस्