रामेछापका सात पालिकाको स्वास्थ्य र विपद् बाहेकका सेवा बन्द

  • प्रकाशित मिति: मंगलबार, भाद्र २ २०७७
  • तामाकोशी

रामेछाप । भदौ २ गते,
कोरोना भाइरस संक्रमणको जोखिमता बढेको भन्दै रामेछापका ७ वटा पालिकाहरुले अत्यावश्यक बाहेका सम्पुर्ण सेवा बन्द गरेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका स्वास्थ्य शाखाका एक कर्मचरीमा कोरो संक्रमण पुष्टि भएपछि गत शुक्रवारदेखिनै नगरपालिकाको कार्यालय शिल गरी पालिकाबाट प्रवाह हुने स्वस्थ्य र विपद् बाहेकका सबै सेवाहरु पुर्णरुपमा बन्द गरेको छ । अहिले मन्थली नगरपालिका प्रमुख लगाएत जनप्रतिनिधि र कर्मचारीहरु होम क्वारेन्टीनमा बसिरहेका छन् । जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लाका अन्य पालिकाहरुले पनि धमाधम सेवा बन्द गरिरहेका छन् । रामेछाप नगरपालिकाले आइतबार सार्बजनिक सूचना मार्फत भदौ १ गतेदेखि अर्को सूचना जारी नहुन्जेल सम्मका लागि आफ्ना सबै सेवाहरू बन्द गरेको जनाएको छ । नगर प्रमुख नरबहादुर थापागमरले कोभिड–१९ को सक्रमण फैलदै गएको वर्तमान अवस्थामा नेपाल सरकारको मिति २०७७÷०४ ÷२६ र जिल्ला संकट व्यवस्थापन केन्द्रको २०७७÷०४÷२९ को निर्णय समेतको आधारमा पालिकाका सबै सेवाहरु बन्द गरिएको जानकारी दिनुभयो । त्यसैगरी लिखुतामाकोशी गाउँपालिकाले पनि स्वस्थ्य र विपद् बाहेक आफ्ना सबै सेवाहरु बन्द गरेको छ । उपाध्यक्ष दिपशिखा न्यौपाने दाहालले एक सूचना जारी गरी २०७७ भदौ १ गते देखि ११ गते सम्मका पालिका र वडाहरुबाट प्रवाह हुने स्वस्थ्य र विपद् बाहेक सबै प्रकारका सेवाहरु बन्द गरिएको जनाउनुभएको छ । जिल्लाको खाँडादेवी गाउपालिकाले सार्वजनिक सूचना जारी गरी साउन ३० गते देखि भदौ १२ गते सम्म अत्यावश्यक बाहेक सम्पुर्ण सेवाहरु बन्द गरेको छ । गोकुलगंगा गाउपालिकाले पनि साउन ३० गतेदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि पालिका बाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको गाउँपालिकाका अध्यक्ष खड्क बहादुर सुनुवारले जानकारी दिुभयो । कोरोना संक्रमण नियन्त्रणका लागि दोरम्बा गाउँपालालिकाले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । गाउँपालिका उपाध्यक्ष कृषला घिसिङले सूचना जारी गरी गाउँपालिका भित्र दैनिक उपभोग्य सामान बिक्री गर्ने खाद्यान्न लगायतका पसल बिहान ५ बजेदेखि १० बजेसम्म मात्र खुल्ला राख्न पाइने बताउनुभएको छ । अन्य पसल र सेवा बन्द हुने उहाँले बताउनुभयो । उमाकुण्ड गाउँपालिकामा भदौ ११ गतेसम्मको लागि अत्यावश्यक बाहेका सेवा बन्द गरिएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गरी अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले समुदायमा संक्रमण फैलन नदिन सेवा बन्द गरिएको जानकारी दिनुभयो । गाउँपालिका भित्र अत्यावश्यक उपभोग्य सामाग्रीका पसल बाहेक अन्य पसल तथा होटल बन्द हुने भएका छन् । अत्यावश्यक सामाग्री बिक्री गर्ने पसल समेत बिहान ५ बजेदेखि १० बजेसम्म मात्र खुल्न पाउने छन् । त्यस्तै सुनापाति गाउपालिकाका अध्यक्ष धावा लामाले यहि भदौ ४ गते कार्यपालिकाको बैठक तय भैसकेकोले यस बारेमा सोहि बैठकले आवश्यक निर्णय गर्ने भन्दै पालिकाबाट प्रवाह हुने सबै अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुन सक्ने बताउनुभयो । कुशेऔसी, तिज, पञ्चमी जस्ता पर्व नजिकिएसँगै धार्मी स्थलमा पूजा र नाचगान गर्ने मानिसको भिड बढ्ने भएकोले रामेछापका स्थानीय तहलेहरु यस्ता कार्यहरुमा पुर्ण रुपमा रोक लगाएका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय रामेछापले पनि जिल्ला भरि नै यातायात साधन सञ्चालनमा रोक लगाएको छ । बजारहरु बिहान ५ बजेदेखि १० बजेसम्म मात्र खुल्ला गर्ने अनुमति दिएको छ । रातको समयमा जिल्लामा आवागमनमा समेत रोक लगाइएको छ ।