रामेछाप । साउन ३१ गते,
कोरोनाका बिरामी बढेपछि रामेछापमा पैदल यात्रामा समेत रोक लगाइएको छ । जिल्लामा साँझ ७ देखि बिहान ५ बजेसम्म जिल्ला प्रवेश गर्ने नाकामा पैदल यात्रा गर्न रोक लगाइएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रले जिल्लाको सबै क्षेत्रमा थप कडाई गर्ने निर्णय गरेसंगै उपभोग्य सामान बिक्री गर्ने पसल बिहान ५ देखि १० बजेसम्म मात्रै सञ्चालन भएका छन् । अत्यावश्यक र स्थानीय प्रशासनबाट अनुमति लिएका सवारी साधन बाहेक सबै सार्वजनिक र निजी सवारीसाधन, मोटरसाइकल समेत भदौ ११ गते सम्मका लागि जिल्ला भित्र पनि सञ्चालनमा रोक लगाइएको छ । सदरमुकाम मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सदरमुकाम र सदरमुकामसँग जोडिएका स्थानीय तहमा समेत कोरोना संक्रमण फैलने त्रास बढेको छ । अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्थानीय प्रशासनले जिल्लाबासीलाई आग्रह गरेको छ । बाहिर निस्कनै परे स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । यस्तै कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि रामेछापको खाँडादेवी गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । संक्रमणलाई ध्यान दिँदै गाउँपालिकाले शुक्रबारदेखि भदौ १२ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो । गाउँपालिकाले शुक्रबार एक सूचना मार्फत कार्यालयमा सेवा लिनेको भीड बढेकाले संक्रमण फैलने जोखिम भएको भन्दै सेवा बन्द गरिएको उल्लेख छ ।
रामेछाप प्रवेश नाकामा पैदल हिड्न समेत रोक
- प्रकाशित मिति: शनिबार, साउन ३१ २०७७
- तामाकोशी