खाँडादेवी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

  • प्रकाशित मिति: शनिबार, साउन ३१ २०७७
  • तामाकोशी

रामेछाप । साउन ३१ गते,
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि रामेछापको खाँडादेवी गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । संक्रमणलाई ध्यान दिँदै गाउँपालिकाले शुक्रबारदेखि भदौ १२ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो । गाउँपालिकाले शुक्रबार एक सूचना मार्फत कार्यालयमा सेवा लिनेको भीड बढेकाले संक्रमण फैलने जोखिम भएको भन्दै सेवा बन्द गरिएको उल्लेख छ । तर गाउँपालिकाले प्रवाह गर्ने स्वास्थ्य लगायत अत्यावश्यक सेवा भने यथावत रहने विज्ञप्तिमा लेखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २३ जना निको भैसकेका छन् भने ९ जनाको उपचार भैरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।