रामेछाप । साउन ३० गते,
रामेछापमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम स्थगित गरिएको छ । जिल्लामा कोरोना भाइरस कोभिड १९ संक्रमण दर बढेको भन्दै स्थायी विवरण दर्ता कार्य स्थगित गरिएको हो । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले कोरोना भाइरस संक्रमणको जोखिमता थप बढ्दै गएकाले साउन ३२ गते आइतबारदेखी अर्काे सूचना नभएसम्मका लागि विवरण संकलन कार्य स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले मन्थली नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका भित्र थप जोखिमता बढेकाले यसैलाई मध्येनजर गरी विवरण संकलन कार्य रोक्नु परेको बताउनुभयो । अहिलको जटिल परिस्थिती सामान्य भएपछि जिल्लाभर अभियाननै संचालन गरेर विवरण संकलन गरिने उहाँको भनाई छ । उहाँले विवरण संकलन सुरु भएको एक महिनामा ४ सय ८५ जनाको विवरण संकलन गरिएको बताउनुभयो । जिल्लामा साउन १ गते बिहीबार जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले आफ्नो व्यक्तिगत विवरण सहित फोटो खिचाएर राष्ट्रिय परिचयपत्रका लागि स्थायी विवरण दर्ता कार्यको सुरुवात गर्नुभएको थियो । आगामी तीन वर्षभित्र सबै नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार जिल्लामा विवरण संकलनको काम सुरु गरिएको थियो । यसअघि दैनिक १५ जना नागरिकले राष्ट्रिय परिचयपत्र लिनका लागि आफ्नो व्यक्तिगत विवरण संकलन गराउँदै आएका थिए । नागरीकताको संकल प्रति सहित जिल्ला प्रशासनका स्वयम उपस्थित भई राष्ट्रिय परिचय पत्रको लागि आफ्नो विवरण दिन सकिने व्यवस्था गरिएको थियो । २ नगरपालिका र ६ गाउँपालिकाको ६४ वटा वडा रहेको जिल्लामा सरकारको कार्यक्रम अनुसार आगामी तीन वर्षभित्र सवै नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यका साथ विवरण संकलन कार्य भैरहेको थियो । सरकारले वि.स २०७५ मंसिर ३ गते पाँचथर जिल्लाका १०१ वर्षका जेष्ठ नागरिक भगवती देवी भण्डारीलाई प्रदान गरी राष्ट्रिय परिचयपत्र वितरणको औपचारिकरुपमा सुरुवात गरेको थियो ।
राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम स्थगित गर्ने बारे जिल्ला प्रशासन रामेछापको सूचना हेर्नुहोस्
