सामुदायिक प्रहरीद्वारा सेलेघाटमा साबुन र मास्क वितरण

  • प्रकाशित मिति: बुधबार, साउन २८ २०७७
  • तामाकोशी

रामेछाप । साउन २८ गते,
सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापले मन्थली नगरपालिका ६ सेलेघाटको माझी समुदायमा मास्क र साबुन वितरण गरेको छ । जिल्लाको प्रवेश मार्गमा पर्ने सेलेघाटमा बुधबार आयोजना भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले झण्डै १ सय जनालाई मास्क र साबुन वितरण गर्नुभएको थियो । कोरोनाको संक्रमण हुलमुलमा जादा“ र असावधानिबाट हुुने भएकाले सावधानि अपनाउन र सुरक्षाका विधि अपनाउनका लागि उहाँले समुदायका सदस्यलाई आग्रह गर्नुभयो । सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापका अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार टीकाप्रसाद भट्टले कोरोना संक्रमण र यसले समाजमा पु¥याएको असरका बारेमा धारणा राख्नु भएको थियो । सो अवसरमा कोभिड–१९ रोग र यसबाट वच्ने उपाय तथा महिला हिंसा अन्त्यका लागि जानकारी मुलुक पर्चा समेत वितरण गरीएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्र मार्फत आदिवासी जनजाति समूदाय र जिल्ला प्रवेश हुने नाकामा रहेका नागरिकलाई मास्क र साबुन वितरण गर्न आई एम ई सेन्टर प्रथमा मनि ट्रान्सफरका संचालक तथा रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले सहयोग गर्नुभएको थियो । केन्द्रले भिरपानीको सित्खा र राकाथुमको लुभुघाटमा समेत मास्क र साबुन वितरण गर्ने कार्यक्रम तय गरेको छ ।