सुनकोशी २ जलविद्युत आयोजनाले माझी समुदायको पहिचाननै गुम्ने खतरा

  • प्रकाशित मिति: आइतबार, साउन २५ २०७७
  • तामाकोशी

रामेछाप । साउन २५ गते,
रामेछापको मन्थली नगरपालिका वडा नं ६ कुनौरीमा बसोबास गर्ने माझी समुदायका महिलाहरुले सुनकोशी २ जलविद्युत आयोजना निर्माण भएमा आफुहरुको पैतृक थातथलो र सामाजिक एकता गुम्ने बताएका छन् । २६ औँ विश्व आदिवासी दिवसका अवसरमा कुनैरीमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले आइतबार आयोजना गरेको माझी महिलाहरुको भूमि अधिकारका लागि संचार बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि महिलाहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा सहभागिह महिलाहरुले आयोजना निर्माण भए आफुहरुको भाषा , धर्म ,संस्कृति , परम्परा र पहिचान लोप हुने , लैङगिक हिंसा चोरी जस्ता चुनौतीहरुको सामना गर्नुपर्ने ,शिक्षा स्वास्थ्य , खानेपानी ,बिजुली , यातायातको पहँुचमा समस्या आउँने गुनासो गरेका थिए । त्यसैगरी ऐतिहासिक सामाजिक एकता हराउँने ,परम्परा र संस्कृतिमा विचलन र पहिचानमा नकरात्मक प्रभाव पार्नका साथै आर्थिक संकट आउने भएकाले यसका बारेमा गम्भीर बन्न सरोकारवालासंग कार्यक्रममा सहभागि माझी महिलाहरुले माग गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनाजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार , नेपाल आदिवासी जनजाति महासंघ रामेछापका सचिव श्री बहादुर माझी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ , रामेछापका अध्यक्ष नवराज श्रेष्ठ , पत्रकार सुमित श्रेष्ठ र नेपाल घेदुङ संघका केन्द्रीय सदस्य सोनाम ग्यापक लगायतले सुनकोशी २ जलविद्युत आयोजना निर्माण भएमा माझी समुदायहरुको पैतृक थातथलो र सामाजिक एकता गुम्ने मात्रै नभै उनीहरुको भाषा , धर्म ,संस्कृति , परम्परा सहित पहिचाननै लोप हुने खतरा रहेको बताएका थिए । उनीहरुले आफ्नो तथा भूमि अधिकारका लागि एकजुट भएर एउटै स्वरमा सुनकोशी २ जलविद्युत आयोजना र सरोकारवाला निकायसंग लड्न महिलाहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी फिल्ड संयोजक सावित्री चेपाङले सुनकोशी २ जलविद्युत आयोजना प्रभावित कुनौरीमा रहेको माझी समुदायमा ३ वटा समुह र भटौलीमा २ वटा समुह बनाएर विभिन्न समस्याहरुको पहिचान गरिएको जानकारी दिइन् । जुन कार्यबाट आयोजना प्रभावित माझी समुदायको भाषा , धर्म ,संस्कृति , परम्परा र पहिचान लोप हुने र उनीहरु शिक्षा स्वास्थ्य , खानेपानी ,बिजुली , यातायातको पहँुचमा नरहने जस्ता समस्या देखिएको उनको भनाई छ ।

थप फोटो हेर्नहोस्