रामेछापमा मास्क प्रयोगमा थप कडाई , एक हप्तामा ३ सय ४३ जना कारवाहीमा

  • प्रकाशित मिति: बुधबार, साउन २१ २०७७
  • तामाकोशी

रामेछाप । साउन २१ गते,
रामेछापमा मास्क प्रयोगमा थप कडाई गरिएको छ । जिल्लामा एक हप्तामा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न स्थानीय प्रशासनले गरेको आग्रहको बेवास्ता गर्ने ३ सय ४३ जनालाई कारवाही गरिएको छ । लकडाउन खुलेपनि मानिसको भिडभाड भढेसंगै कोरोना संक्रमणको जोखिमता उच्च रहेको भन्दै स्थानीय प्रशासनले गरेको आग्रहलाई बेवास्ता गरि मास्क नलगाई हिड्ने ३ सय ४३ जना भन्दा बढीलाई प्रशासनको निर्देशन अनुसार कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले बताउनुभयो । उहाले मास्क नलगाई सवारी चलाउने तथा यात्रा गर्ने यात्रुलाई प्रतिव्यक्ति एक सय रुपैयाँ दण्ड जरिवाना गरिएको बताउनुभयो । उहाँले साउन १५ गते यता विना मास्क हिड्ने ३ सय ४३ जना भन्दा बढी कारवाहीबाट ३४ हजार ३ सय जरिवाना संकलन गरिएको बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मास्क नलगाउँनेलाई दण्ड जरिवाना गर्नेमात्रै नभै सवारी साधनमा यात्रा गर्ने तथा पैदल यात्रा गर्ने वृद्ध वृद्धा तथा बालबालिकाहरुलाई निशुल्क मास्क वितरण गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार गत साउन १५ गते विहीबारयता ट्राफिक प्रहरी कार्यालय रामेछापले सडकमा यात्रा गर्ने वृद्ध वृद्धा तथा बालबालिकाहरुलाई ७ सय ५० पीस भन्दा बढी मास्क निशुल्क वितरण गरेको छ । ट्राफिक प्रहरी प्रमुख पाण्डेले पछिल्लो समय मोटरसाइकलमा यात्रा गर्ने र ढुवानीका साधनहरु चलाउने चालकहरु मास्क नलगाएकै कारण कारवाहीमा पर्ने गरेको बताउनुभयो ।