रामेछापमा ३ जनाको पीसीआर रिपोर्ट आउन बाँकि,३६ जना क्वारेन्टीनमा

  • प्रकाशित मिति: मंगलबार, साउन २० २०७७
  • तामाकोशी

रामेछाप । साउन २० गते,
रामेछापमा थप तीन जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । मंगलबार जिल्ला अस्पतालमा पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि थप तीनजनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार यसअघि स्वाब संकलन गरिएका ५ सय ९४ जनाको रिपोर्ट आइसकेको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित ४ जनाको आइसोलेशनमा उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म ५ सय ६७ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा ३५ , मन्थली नगरपालिकामा १ सय ७ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६९ , दोरम्बा गाउँपालिकामा ३०, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । यसमध्ये ३ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताउनुभयो । जिल्लाको विभिन्न पालिकाहरुमा अहिले २ जना महिला र २४ जना पुरुष गरि ३६ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा २९ , लिखुतामाकोशी गाउँपालिकामा ६ र सुनापति गाउँपालिकामा १ गरी जिल्लाभर ६५ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

रामेछापको पछिल्लो कोरोना अपडेट हेर्नुहोस्