रामेछाप । साउन १५ गते,
अनिवार्य रुपमा मास्कको प्रयोग गर्न स्थानीय प्रशासनले गरेको आग्रह नमान्नेलाई रामेछापमा कारवाही सुरु गरिएको छ । लकडाउन खुलेपनि कोरोना संक्रमणको जोखिमता कायमै रहेको भन्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय विभिन्न राजनीतिक दलका नेता एवं संघ संस्थाहरुले मास्कको प्रयोग अनिवार्य रुपमा गर्न जिल्लाभर कोरोना विरुद्ध सचेतना फैल्याउन मास्क वितरण अभियान समेत चलाएको थियो । अभियान मार्फतको सचेतना र जिल्ला प्रशासनले गरेको आग्रह समेतलाई बेवास्ता गरि मास्क नलगाई बजार क्षेत्रमा हड्डुल गर्नेहरुलाई प्रशासनको निर्देशन अनुसार एक सय रुपैयाँ दण्ड जरिवाना स्वरुप लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले बताउनुभयो । उहाँले विना मास्क बजारमा हिड्डुल गर्ने ६० जना भन्दा बढीलाई प्रतिव्यक्ति एकसय रुपैयाँका दरले जरिवाना गरिएको बताउनुभयो ।कोरोना भाइरस संक्रमणबाट आफुपनि बचौँ अरुलाई पनि बचाउँ भन्ने हेतुले अपाङग, असक्त र वृद्ध वृद्धाहरुलाई ट्राफिक प्रहरीले मास्क वितरण गरिरहेको पनि उहाँको भनाई छ । जिल्लामा मास्क अनिवार्य गर्नका लागि धेरै पटक सचेतना मुलक कार्यक्रम संचालन गरियो , अब दण्ड जरिवानाको कार्यलाई कडाईका साथ कार्यान्वयन गरिन्छ उहाँले भन्नुभयो । बजारक्षेत्रमा हिड्दा अनिवार्य रुपमा मास्कको प्रयोग नगर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको नीति अनुसार रामेछाप जिल्लामा पनि मास्कको प्रयोग अनिवार्य गरिएको रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । सरकारले लकडाउन हटेको घोषणा गरेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले अनिवार्य रुपमा नागरिकहरुले मास्कको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । जिल्लामा कोरोना परीक्षणका लागि हालसम्म ५ सय ६० जनाको स्वाब सङ्कलन गएिको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय ५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उहाँका अनुसार जिल्लाको विभिन्न पालिकाहरुमा अहिले ६ जना महिला र ५६ जना पुरुष गरि ६२ जना क्वारेन्टिनमा रहेका छन् ।
थप फोटो हेर्नुहोस्

