भूकम्पले भत्कीएको घरलाई नया बनाउँने रहर

  • प्रकाशित मिति: बुधबार, साउन १४ २०७७
  • तामाकोशी

रामेछाप । साउन १४ गते,
दोरम्बा गाउँपालिका वडा नं ३ टोकरपुरका ६६ वर्षीय झप्पड बहादुर बसेलको नयाँ घरमा चार जनाको परिवार सहित बस्ने रहर अझै मरेको छैन । भूकम्पले भत्काएको घर बनाउन पाँच पटक भन्दा बढी गुनासो भर्दा पनि नाम नपरेपछि उहाँ फेरि गुनासो फाराम भर्न जिल्ला सदरमुकाम मन्थली आउनुभएको छ । सदरमुकाम मन्थलीमा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयमा गुनासो गर्न आउनुभएको उहाँले भन्नुभयो, ‘भत्किएको घर बनाउन अनुदान पाउँ भन्दा कसो एकदिन न एकदिन सरकारले नसुन्ला त ।’अहिले कार्यालयमा गुनासो भर्नेको ठूलो भिड लागेको छ । त्यसैले आएकै दिन उहाँको पालो आएन । कार्यालयमा आएको दोस्रो दिन मात्रै उहाँले गुनासो फाराम भरेर बुझाउनुभएको छ । ‘वरिपरी छिमेकमा एकैजनाले तीनवटासम्म घर बनाए तर आफ्नो भने पाँचपट गुनासो भर्दापनि अझै परेको छैन’, उहाँले भन्नुभयो । सुनापति गाउँपालिका–३ का ७५ वर्षीय चक्रबहादुर खत्री पनि गुनासो फाराम भर्न दुई दिनदेखी जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयमै पालो पर्खेर बसिरहनु भएको छ । भूकम्पले घर बस्नै नहुनेगरी भत्काएपछि दुई बुढाबुढी टहरोमा बस्दै आउनु भएका उहाँले पनि चार पटक गनासो फाराम भर्दा पनि लाभग्राही सूचिमा नाम परेको छैन ।उहाँलाई पनि बुढेसकालमा नयाँ घर बनाएर बस्ने रहर छ । ‘रहर त छ नि , तर खै सरकारले सुनेको छैन’, उहाँले भन्नुभयो । पटक पटक प्राविधिक आएर घरको घरको लागि अनुदान पर्छ भनेर गए पनि आफ्नो नाम नआएको उहाँले गुनासो गर्नुभयो । मन्थली नगरपालिका– १४ फुलासीका ७७ वर्षीय गोरे मगर भने गुनासोमा नाम निस्कीएपछि नयाँघर बनाउने सपना बोकेर सम्झौताको लागि सदरमुकाम झर्नु भएको छ । उहाँको पनि छैठौँ पटक गुनासो फारम भरेपछि पुननिर्माण लाभग्राहीको सूचिमा नाम निस्किएको हो । ‘भूकम्पले एकैपटक घर भत्कीएका छिमेकीका सबै घर बनीसके, आफ्नो बल्ल नाम पर्यो ’, उहाँले भन्नुभयो । गएको २०७२ सालामा आएको विनासकारी भूकम्ले घर क्षति भए पनि विभिन्न प्राविकि कारणले लाभग्राहीको सूचिमा नाम ननिस्किएकाको लािग गुनासो भर्न सरकारले आह्वान गरेको छ । सोही अनुसार अहिले गुनासो भर्न जिल्ला भरका सर्वसाधारण सदरमुकाम मन्थली झरेका छन् ।लकडाउन पछि जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयले गुनासो लिन थालेपछि जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाका ६४ वटै वडाका नागरिक गुनासो भर्न मन्थलीमा आएका छन् । छैठौँ साँतौँ पटक गुनासोमा फारम भर्दा पनि नाम नपरेर पनि अझै नाम पर्ने र नयाँघरमा बस्ने आशामा भूकम्प पीडित गुनासो भर्न अएका हुन् ।जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय रामेछापका प्रमुख गणेश अर्यालले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तीनपटक सर्भेक्षण भएर छुटेका लाभग्रहीहरुको पुनारावेदन लिइरहेको बताउनुभयो । उहाँले पुनारावेदन दिने समय साउन १५ गतेसम्म भएकाले अहिले जिल्लाभरका दैनिक ३ सय भन्दा बढी नागरिकले पुनारावेदन फारम भरिरहेको बताउनुभयो । अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तीनपटक सर्भेक्षण गरेर छुटेका झण्डै १४ हजार बढी नागरिहरुले पुनारावेदन गर्ने क्रम जारी रहेको बताउनुभयो । २०७२ वैशाख १२ , १३ र २९ गते आएको महाविनाशकारी भूकम्पले जिल्लामा झण्डै ५० हजार निजि घर पुर्णरुपमा क्षति गरेको थियो । जसमध्ये गत आर्थिक २०७६÷०७७ सम्म ८६ प्रतिशत निजि घर बनेका छन् । ती मध्ये ९९ प्रतिशत लाभग्रहीले पहिलो किस्ता ,८३ दशमलव ८३ प्रतिशतले दोस्रो किस्ता र ८६ प्रतिशत लाभग्राहीले तेस्रो किस्ताको रमक लिइसकेका छन् । गत आर्थिक वर्षसम्म निजि घर पुननिर्माणका लागि रामेछापमा ११ अर्ब ४ करोड ३६ लाख रुपैयाँ खर्च भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयले जनाएको छ ।

थप फोटो हेर्नुहोस्