जिल्ला अदालत रामेछापद्धारा ५३ प्रतिशत मुद्दा फछ्यौट

  • प्रकाशित मिति: बुधबार, साउन १४ २०७७
  • तामाकोशी

रामेछाप । साउन १४ गते,
जिल्ला अदालत रामेछापले गएको आर्थिक वर्षमा ५३ प्रतिशत मात्रै मुद्दा फछ्यौट गरेको छ । जिल्ला अदालत गत आर्थिक वर्ष २०७६÷०७७ मा अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएका सहित जम्मा १ सय ९९ मुद्दा फछ्यौट गर्न सफल भएको हो । जिल्ला अदालत रामेछापा एक वर्षभरी गरेको कार्यसम्पादनबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीले अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको सहित ३ सय ७३ वटा मुद्दामा जम्मा १ सय ९९ वटा मात्रै फछ्यौट भएको बताउनुभयो । उहाँले १ सय ७४ मुद्दा फछ्यौट हुन बाँकि रहेको बताउनुभयो । कोरोना भाइरस कोभिड १९ बाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण लक्ष्य अनुसार मुद्दाको फछ्यौट नभएको जिल्ला न्यायाधीश पराजुलीको भनाई छ । उहाँले गत वर्ष देवानीका २ सय ४७ वटा मुद्दा आएकोमा १ सय ४८ वटा फछ्यौट भएको र ९९ वटा बाँकि रहेको , सरकारवादी फौजदारीका ८४ वटा मुद्दा आएकोमा ३१ वटा फछ्यौट भएको र ५३ वटा फछ्यौट हुन बाँकि रहेको बताउनुभयो । त्यसैगरी दुनियावादी फौजदारीका ३८ वटा मुद्दा आएकोमा १७ वटा फछ्यौट भएको र २१ वटा बाँकि रहेको , रिट एउटा आएकोमा बाँकि रहेको ,पनरावेदन तीनवटा आएकोमा तीनवटै फछ्यौट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्ला अदालते गत आर्थिक वर्षमा २ सय ९३ मुद्दा पर्ने अनुमान गरेको थियो भने २ सय ६५ वटा मुद्दा फछ्यौट गर्ने लक्ष्य लिएको थियो । तर लामो समयको लाकडाउनका कारण सबै काम कारवाही बन्द हुदा लक्ष्य पुरा नभएको उहाँको भनाई छ । उहाँले लकडाउनको समयमा जिल्ला अदालतमा जम्मा २० वटा मात्रै मुद्दाा आएको बताउनुभयो । जिल्ला न्यायाधीश पराजुलीले जिल्लामा मेलमिलापबाट मुद्दा समाधान भने एकदमै कम भएको बताउनुभयो । उहाँले जिल्ला न्यायाधिसको सिफारिसमा मेलमिलापका लागि पठाइएका ३५ वटा मुद्दा मध्ये ५ वटामात्रै सफल भएको बताउनुभयो । जिल्ला न्यायाधीश पराजुलीले जिल्लाका सबै स्थानीय तहका न्यायिक समितिहरु निस्कृय हुदा पनि मेलमिलाप हुने खालका मुद्दा पनि मेलमिलाप हुन नसकेको बताउनुभयो । उहाँका अनुसार जिल्ला अदालतले एक वर्षको अवधिमा ७८ लाख दण्ड जरिवाना उठाउँने लक्ष्य लिएकोमा जम्मा १२ लाख ५५ हजार ४ सय ७१ रुपैयाँ मात्रै उठाउन सफल भएको छ । उहाँले सर्वाेच्च अदालतको निर्देशन अनुसार जिल्ला अदालत रामेछापमा पनि फरक मुद्दा व्यवस्थापनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएर सेवा प्रवाहा गरिरहेको बताउनुभयो ।

थप फोटो हेर्नुहोस्