नवजागरण बचतको कोरोना राहत : चार महिनामा १५ लाख बढी छुट

  • प्रकाशित मिति: सोमबार, साउन १२ २०७७
  • तामाकोशी

रामेछाप । साउन १२ गते,
रामेछापको सदरमुकाम मन्थलीमा संचालित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना राहत स्वरुप १५ लाख बढी छुट दिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट बच्न सरकारले जारी गरेको लकडाउन अवधिभर प्रभावमा परेका आफ्ना सदस्यहरुलाई उक्त छुट दिएको हो । सहकारीको २२ औँ स्थापना दिवसका अवसरमा सोमबार संस्थाले आयोजना गरेको चियापन कार्यक्रममा सहकारीका व्यवस्थापक रमेश उदाशले कोरोनाको प्रत्यक्ष मारमा परेका सदस्यहरुलाई १५ लाख २५ हजार ५ सय ८९ रुपैयाँ छुट दिइएको जानकारी दिनुभयो । उहाँले सहकारीबाट ऋण लिई नियमित ब्याज तथा किस्ता बुझाउँने सदस्यहरुलाई चैत्र,वैशाख , जेठ महिनामा २० र असार महिनामा १५ प्रतिशतका दरले कोरोना राहत स्वरुप छुट प्रदान गरिएको बताउनुभयो । उहाँले कोरोनाका कारण मुलुकनै समस्यामा परेको अवस्थामा पनि नवजागरण बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७६÷०७७ मा पनि ६६ लाख ३७ हजार बढी खुद नाफा कमाउन सफल भएको बताउनुभयो । कोरोनाका कारण कति सहकारीहरु घाटामा जाने वर्तमान अवस्थामा पनि नवजागरणले भने उक्त नाफा कमाएको हो । कार्यक्रममा संस्थाका सचिव सोमेश थपा र कोषाध्यक्ष जगन्नाथ दाहालले सहकारीका सदस्यहरु सहकारीका मालिक भएकाले उनीहरुलाई केन्द्रमा राखेर संस्थाले काम गरिरहेको बताउनुभयो । बेला बेलामा आउने विभिन्न समस्याहरुमा पनि सहकारी आफ्ना सदस्यहरुका लागि विभिन्न राहातका प्याकेजहरु ल्याउने उहाँहरुको भनाई छ । सहकारीले प्रदान गरिरहको सेवाका बारेमा खुला छलफल समेत भएको कार्यक्रममा सहकारीका अध्यक्ष श्याम थापाले सहकारीका सदस्यहरुको समस्या र उनीहरुको सुझावका आधारमा संस्थाको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउदै लैजानेमा जोड दिनुभयो । २०५५ साल साउन   महिनाको १२ गते स्थापना भएको सहकारीको कुल पुँजी ४३ करोड पुगेको छ । अहिले नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ६ हजार २ सय ९६ जना सदस्य छन् ।

थप फोटोहरु हेर्नुहोस्