रामेछापमा ट्राफिक कारवाहीबाट एक वर्षमा साढे ५२ लाख राजश्व संकलन

  • प्रकाशित मिति: बिहिबार, साउन ८ २०७७
  • तामाकोशी

रामेछाप । साउन ८ गते,
रामेछापमा ट्राफिक नियम उल्लङगन् गर्ने सवारी कारवाहीबाट एक वर्षमा ५२ लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा ट्राफिक नियम विपरित संचालित ७ हजार २ सय ५० सवारी कारवाहीबाट उक्त जरिवाना सङकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले जानकारी दिनुभयो । उहाँले नियम विपरित सवारी संचालन गर्ने चालकहरुलाई कडा कारवाही गरिएका कारण अहिले नियम उलङ्घन गर्ने सवारीमा कमि आएको बताउनुभयो । आर्थिक वर्ष २०७५÷०७६ मा ट्राफिक प्रहरीले ९ हजार ९ सय ८५ सवारी कारवाहीबाट ८९ लाख ३० हजार ५ सय राजश्व संकलन गरेको थियो । ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख पाण्डेले गत एक वर्षमा जिल्लाको विभिन्न स्थानमा भएका २१ वटा सवारी दुर्घटनमा परी १२ जनाको ज्यान गएको ६६ जना घाइते भएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७५÷०७६ मा भन्दा आर्थिक वर्ष २०७६÷०७७ दुर्घटना संख्या बढी भएपनि ज्यान गुमाउनेको संख्यामा भने १० जनाले कमि आएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को एक वर्षमा जिल्लाका विभिन्न स्थानमा भएका २० वटा दुर्घटनामा परी २१ जनाले ज्यान गुमाएका थिए भने दुर्घटनामा परी ६१ जना घाइते भएका थिए । उहाँले गएको आर्थिक वर्षमा गम्भीर प्रकृतिका सवारी दुर्घटना गराउँने १४ जना चालकलाई सवारी ज्यान सम्बन्धी मुद्धा चलाइएको छ भने चाडपर्वको समयमा मौका छोपेर यात्रुहरुसंग बढी भाडा लिने ५ सवारीलाई आवश्यक कारवाही गरी बढी लिइएको भाडा फिता गरिएको बताउनुभयो । सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला सदरमुकाम मन्थली सहित जिल्लाका बजार क्षेत्रहरुमा सवारीको गति सिमित गरिनुका साथै ट्राफिक प्रहरीको डेमो मार्फत सचेतना अभिवृद्धि गर्ने काम गरिएको उहाँले बताउनुभयो