चीनको केरुङ छ्यो ताल फुट्ने सम्भावना , सुनकोसी र तामाकोसी आसपासका वस्तीमा सुरक्षित रहन आग्रह

  • प्रकाशित मिति: मंगलबार, साउन ६ २०७७
  • तामाकोशी

रामेछाप । साउन ६ गते,
लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको भन्दै रामेछाप प्रशासनले सुनकोसी र तामाकोसी आसपासका वासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार अविरल बर्षासँगै ताल फुटन सक्ने सम्भावना रहेको जानकारी गराउदै जिल्ला प्रशासन रामेछापले सुनकोसी तथा तामाकोसी नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो । मंगलबार बिहान एक विज्ञप्ति निकाल्दै प्रशासनले नदी किनारका वासिन्दालाई सुरक्षित रहन र स्थानीय सरकारलाई पनि आवश्यक समन्वय गर्न आग्रह गरेको हो । प्रशासनले ताल फुट्दा भोटनेकोसी नदीमा पानीको वाहव बढेसंगै तामाकोसी र सुनकोसी नदीमा पनि वहाव बढ्ने भएकाले नदी किनाराका बस्तीमा जोखिम हुने पूर्व अनुमान गरेर सतर्क रहन आग्रह गरेको हो । जोखिममा रहेको ताल फुटेको अवस्थामा रामेछापको नवुघाट, विर्ताघाट, चुकियाघाट, हर्दिनीघाट, कोरमाना, नवलपुरघाट, तल्लो खैरेनीटार लुभुघाट, सिख्ता डप्खा, पुच्छीघाट, राकाथुमको बेलघारी नजिकको घरधुरी, सुनापती गाउँपालिकाको दोभनटार, सिन्धुरेटार च्याडीटार बस्ती जोखिमा पर्ने पूर्व अनूमान गरिएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तामाकोसी र सुनकोसी नदी आसपासका बस्ती उच्च जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरिएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माले सोमबारको तुलनामा मंगलबार पानी कम परेकाले जोखिम केहि कम भएपनि जुनसकैबेला ठुलो पानी पर्ने सम्भावना भएकाले जोखिममा रहेका वस्तीहरुलाई सुरक्षित रहन आग्रह गरिएको बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शर्माले स्थानीय सरकारसंग आवश्यक समन्वय गरेर सुरक्षाकर्मीलाई समेत तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँले लगातारको वर्षाका कारण नदी तथा खोला किनारका वस्तीहरु त्यसै जोखिममा रहेको अवस्थामा केरुङ छ्यो ताल फुट्न सक्ने कुराले झनै जोखिम थपिएकाले थप सतर्क हुन आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको सूचना हेर्नुहोस्