उमाकुण्ड गाउँपालिका बाढी पहिरोको उच्च जोखिममा

  • प्रकाशित मिति: सोमबार, साउन ५ २०७७
  • तामाकोशी

रामेछाप । साउन ५ गते,
केही दिनदेखि निरन्तर परिरहेको पानीका कारण रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण रुपमा प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण गाउँपालिकाका सबै वडा प्रभावित भएका छन् । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार पहिरोका कारण धेरै मानव बस्ती उच्च जोखिममा परेका छन् । ठाउँ ठाउँमा खनिएका सडकले मानव बस्तीलाई नै संकटमा पारेको उनले बताए ।गाउँपालिकाका मुख्य तथा सहायक सडक समेत बाढी र पहिरोको कारण अवरुद्ध भएका छन् । गाउँपालिकाको जिल्ला सदरमुकामसँग सडक सम्पर्क समेत टुटेको छ । व्यक्तीगत भवनका साथै सरकारी तथा गैरसरकारी भवन र सांस्कृतिक सम्पदा समेत बाढी पहिरोको कारण क्षति हुने स्थितिमा पुगेको उनले बताए । गाउँपालिका प्रवेश गर्ने मुख्य सडकमा सवारी चल्ने गरी काम गरिरहेको भएपनि सफल हुन नसकेको उनको भनाई छ । मूख्य सडक बन्द हुँदा दैनिक उपभोग्य सामान आयात तथा बिरामीलाई उपचारमा लैजान समेत कठिन हुने अवस्था आएको उनले बताए । गाउँपालिकाले अति जोखिममा परेका नागरिकलाई पुर्नस्थापना गर्ने कामलाई उच्च प्राथमिकता दिइरहेको सोही अनुसार केही परिवालाई सुरक्षित ठाउँमा सारिएको अध्यक्ष सुनुवारले बताए । बाढी पहिरोको उच्च जोखिममा रहेका गुम्देलको लिखु खोला किनारका बस्ती, बाम्तीको रोसी, ठाडो खोला लगायत बस्ती, भुजीको ठिन्केपू क्षेत्र, कुभुकास्थलीका केही बस्ती, प्रीतिका केही बस्ती र गुप्तेश्वरका केही बस्तीका बासिन्दा उच्च जोखिममा छन् । त्यहाँ कुनै पनि बेला विपत्ति आउनसक्ने अध्यक्ष सुनुवारले बताए ।