काठमाण्डौ । साउन ४ गते,
सरकारको निर्णयअनुसार भोलि (सोमबार) देखि यातायात सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते यातायात सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा व्यवसायीहरुले भोलिदेखि यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानबाट यातायात सञ्चालन गर्ने बताए । सरकारी निर्णयअनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु गाडी सञ्चालन गर्न तयार भएको उहाँले बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे । सार्वजनिक यातायात केन्द्रीय महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उनले बताए । अहिले अन्तर जिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाण्डौ, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । अहिले पनि साझा यातायात, मयूर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् ।
भोलीदेखि सार्वजनिक गाडी चल्ने , गाडी चलाउन व्यवसायी तयार
- प्रकाशित मिति: आइतबार, साउन ४ २०७७
- तामाकोशी