रामेछाप । साउन १ गते,
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले आफ्नो व्यक्तिगत विवरण सहित फोटो खिचाएर रामेछापमा राष्ट्रिय परिचयपत्रका लागि स्थायी विवरण दर्ता कार्यको सुरुवात गरेका छन् । यो संगै रामेछापमा बिहीबारबाट राष्ट्रिय परिचयपत्र स्थायी विवरण दर्ता कार्य औपचाकिर रुपमा सुरु भएको छ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता तथा राहदानी बनाउन आउने व्यक्तिहरुको स्थायी विवरण दर्ता कार्य सुरु गरिएको रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । प्रमुख जिल्ला अधिकारी शर्माले आगामी तीन वर्षभित्र सबै नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार जिल्लामा विवरण संकलनको काम सुरु गरिएको बताइन् । उनले तत्कालका लागि जिल्ला प्रशासनबाट मात्रै यो काम गरिए पनि छिट्टै जिल्ला स्थित ८ वटै स्थानीय तहसंग समन्वय गरेर सरकारको निर्देशन अनुसार प्रत्येक स्थानीय तहको केन्द्रबाट स्थायी विवरण दर्ता व्यवस्था मिलाइने बताइन् । विवरण संकलनको काम सुरु भएको पहिलो दिन जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि , जनप्रतिनिधि , पत्रकार लगायत नागरिकता र राहदानी बनाउँन आएका नागरिकहरुले आफ्नो स्थायी विवरण दर्ता गराएका छन् । २ नगरपालिका र ६ गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा अहिले दैनिक करिव ३० जनाले नेपाली नगरिकता र करिव १५ जनाले राहदानी बनाउँने गरेका छन् । सरकारले वि.स २०७५ मंसिर ३ गते पाँचथर जिल्लाका १०१ वर्षका जेष्ठ नागरिक भगवती देवी भण्डारीलाई प्रदान गरी राष्ट्रिय परिचयपत्र वितरणको औपचारिकरुपमा सुरुवात गरेको थियो ।
थप फोटो हेर्नुहोस्
