रामेछापका दुई स्थानमा स्वाब संकलन बुथ , कोरोना परीक्षण दर भने सुस्त

  • प्रकाशित मिति: शुक्रबार, असार २६ २०७७
  • तामाकोशी

रामेछाप । असार २६ गते,
२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको रामेछापमा परीक्षणको दायरा भने खासै बढ्न सकेको छैन । कोरोना परीक्षणको दायरा सुस्त भएको गुनासो बढेपछि जिल्लामा आरडीटी विधिबाट गरिने परीक्षणको दायरा केहि बढाइएको थियो । आरडीटी परीक्षणको दायरा केहि बढाइएको केहि दिनमै सर्वसाधारण नागरिक , नागरिक समाज, राजनैतिक दल दगायत सरोकार राख्ने निकायले समेत यो परीक्षण प्रभावकारी नभएको भन्दै यसलाई रोकेर पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाउन माग गरे । त्यसपछि जिल्लामा केहि समय आरडीटी परीक्षण ठप्प जस्तै भयो , पीसीआर विधिबाट गरिने परीक्षणको दर भने केहि बढ्यो । स्वास्थ्य कार्यालयको तथ्याकं हेर्दा अहिले जिल्लामा पीसीआर परीक्षण सुस्त हुदै गएको छ भने कम मात्रामा आरडीटी परीक्षण हुन थालेको छ । सरकारले समुदाय स्तरमै कोरोना परीक्षण दायरा बढाउदै लैजाने भने पनि रामेछापमा त्यसको व्यवहारिक कार्यान्वयन भने न्युन जस्तै छ । रामेछापमा विहिबारसम्म ४ सय ७९ जनाको पीसीआर विधि र ८ सय ९२ जनाको आरडीटी विधिबाट कोरोना परिक्षण गरिएको छ । यसमध्ये ४ सय ११ जनाको नेगेटिभ र २३ जनाको पोजेटिभ रिपोर्ट आएकोमा संक्रमित १९ जना कोरोना मुक्त भइसकेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
अहिले जिल्लामा परीक्षणको दायरा बढाउने तयारी भन्दै स्वाब संकलन बुथ स्थापना गर्ने कार्य जारी छ । सोहि अनुसार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई नेपाल इन्जिनियर्स एशोसियसन वाग्मती प्रदेशले स्वाब संकलन बुथ दिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत बिहीबार मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतलाई बुथ दिइएको हो । मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रमा राख्ने गरी बुथ प्रदान गरिएको छ । यसअघि पनि जिल्ला अस्पतालमा स्वाब संकलन बुथ स्थापना गरिएको छ । कोरोना संक्रमण परीक्षणका लागि आवश्यक पर्ने स्वाब सुरक्षित रुपमा संकलन गर्न सो बुथ प्रयोग गरिने बताइएको छ । नेपाल इन्जिनियर्स एशोसियसन बाग्मती प्रदेशका कार्यकारिणी समिति सदस्य इन्जिनियर सरोज कार्कीले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरीएको बुथ प्रमुख जिल्ला अधिकारीले मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतलाई गरेकी थिइन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जोखिम मोलेर काम गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बुथले काम गर्न थप सुरक्षा प्रदान गर्ने बताइन् । मन्थली नरपालिका प्रमुख रमेशकुमार बस्नेतले संकटको बेलामा गरिएको यो सहयोग नगरपालिकाले नविर्सने बताए । वाग्मती प्रदेशका कार्यकारिणी समितिका सदस्य इन्जिनियर सरोज कार्कीले वाग्मती प्रदेशभरिनै बुथ पु¥याउने लक्ष्यअनुसार काम गरिरहेको बताए ।