अबको चुनौती भनेकै वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरुको व्यवस्थापन हो : नगरप्रमुख बस्नेत

  • प्रकाशित मिति: बिहिबार, असार २५ २०७७
  • तामाकोशी

रामेछाप । असार २५ गते,
रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले अबको चुनौती भनेकै कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरुको व्यवस्थापन गर्नु रहेको बताएका छन् । सदरमुकाम मन्थलीमा विहिबार आयोजित सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरुको व्यवस्थापनलाई मुख्य यजेण्डा मानेर आर्थिक गतिविधि संचालन गर्नुपर्ने बताए । मन्थली नगरपालिकाले यसैलाई मध्येनजर गरी वैकल्पीक रोजगारीका क्षेत्र कृषि उद्योग , स्थानीय कच्चा पदार्थमा आधारित रहेर संचालन हुने कुटिर उद्योगहरुको विकासलाई जोड दिने उनको भनाई छ ।  नगरपालिका भित्र पशुपालन व्यवसायलाई धेरै भन्दा धेरै विकास गरी आत्मनिर्भर मात्रै हैन निर्यातमुखी बनाउने गरी कार्यक्रम संचालन गरिने नगर प्रमुख बस्नेतको भनाई छ । उनले कोरोनाका कारण समस्यै समस्या भएको वर्तमान अवस्थामा पनि वैदेशिक रोजगारीलाई रोक्न सक्ने अवस्था नभएकाले यसलाई थप सुरक्षित बनाउँनुपर्नेमा जोड दिए । मन्थली नगरपालिका , सुनापति गाउँपालिका , दोरम्बा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्थली नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्त कुमार बुढाथोकीले कोभिडपछि वैदेशिक रोजगारीका क्षेत्रमा थप चुनौती थपिएकाले यसका सवालमा स्थानीय सरकार थप गम्भीर बन्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले कोरोना भाइरसका कारण विश्वनै ठुलो समस्यामा परेकाले वैदेशिक रोजगारीको क्षेत्र पनि तहस नहस भएको अवस्थामा जिल्लाका चार स्थानीय सरकार मार्फत संचालित कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिए । कार्यक्रममा नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्था , वैदेशिक रोजगारीको अवसर र चुनौती , नेपाली श्रमिकलाई कोरोना भाइरस संक्रमणको अवस्था लगायतका बारेमा छलफल भएको थियो ।

थप तस्वीरहरु हेर्नुहोस्