रामेछाप । असार २४ गते,
विभिन्न बैँक र वित्तीय संस्थाको लगानीमा रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधिन तीनवटा जलविद्युत आयोजनाले फकाएर, तर्साएर र धम्क्याएर आफुहरुको जग्गा कब्जा गरेको स्थानीयले गुनासो गरेका छन् । आयोजनाले कतिपयको जग्गा मुआब्जा नदिइ हड्पेको, मापदण्ड निर्धारण नगरी विभिन्न प्रलोभन देखाएर पास गरेको, थोरै जग्गा लिएर ठूलो सडक खनि पहिरो चलाएर उठिबास लगाइदिएको उनीहरको आरोप छ । १० वर्ष अघि लिखु जलविद्युत आयोजनाको पावर हाउस बनाउन कम्पनिको नाममा पास गरेको साढे तीन रोपनी जग्गाको मुआब्जा अहिलेसम्म नदिएको स्थानीय दिपक बहादुर बस्नेतले बताए । उनले अहिले थप तीन रोपनी जग्गा समेत आयोजनाले हड्पेको बताए । पावरहाउसले खाएको जग्गाको मुआब्जा माग गर्दै बस्नेत अदालत धाइरहेका छन् । जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी न्यायका लागि उच्च अदालतमा मुद्दा लडिरहेका छन् ।
स्थानीय समेत रहेका आयोजनाका निर्देशक राजन खत्रीले विभिन्न प्रलेभन देखाएर आफुलाई सुकुम्बासी बनाएको उनले बताए । विकासले जग्गा जमिन सिध्यायो, सडक किनारमा पर्खाल लगाइदिने भनेको थियो, एक घरको एक जनालाई रोजगारी दिने भनेको थियो, आयोजनाका पदाधिकारीले यस्ता कुनै कुरा पूरा नगरी आफुहरुलाई सुकुम्बासी बनाएको अर्का स्थानीय उमाकुण्ड गाउँपालिका–२ का रामचन्द्र बस्नेतले बताए । स्थानीय रत्नकुमारी सुनुवारको पनि गुनासो त्यस्तै छ । ‘तेरो जग्गाको ३० हजार आउँछ भनेर जवरजस्ती बिजुलीको टावर राख्न जग्गा खने, अहिले वर्षातमा भएको बाँकी जग्गा पनि सबै पहिरोले भत्कायो, आयोजनाले उठिबास लगायो रत्न कमारीले भनिन् । उमाकुण्ड–२ का लाक्पा शेर्पा र दिपबहादुर बस्नेत पनि हाइड्रोले मनलाग्दी गरेको बताउँछन् ।
आयोजनाले सर्वसाधारणलाई लुटेर आफ्ना अनुकूलकालाई मात्र पोषेको उनीहरुको आरोप छ । हाइड्रोले स्थानीयलाई मात्रै हैन आयोजनामा काम गर्ने मजदुरलाई समेत मनलाग्दी गरी ठगिरहेको छ । झापाका समलाल किसुलाई हाइड्रोले तीन महिनादेखी तलब दिएको छैन । उनले आफुले तीन महिनादेखी काम गरेको तलब नपाएको र घर जान्छु भन्दा आयोजनाले केहि वास्ता नगरेको बताए । आयोजनाका अर्का मजदुर साङगे शेर्पाले पनि आफुहरुलाई स्वास्थ्य समस्या हुदा औषध उपचार गर्ने खर्च अभाव हँुदा समेत आयोजनाले तलब नदिएको बताए । बिरामी भएर औषधी किन्न पैसा माग्दा विभिन्न बहादा बनाएर आयोजनाका प्रतिनिधिहरु पन्छिने गरेको शेर्पाको आरोप छ । उनले आयोजनाका हाकिमहरु बोलीले सबैलाई छक्क पार्ने खालको भएपनि उनीहरुको भित्रि रुप अर्कै रहेको उनको भनाई छ ।
आयोजनाले गरेका कुनै पनि काम पारदर्शी नभएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । गाउँपालिकाले पटक पटक मापदण्ड निर्धारण गरेर काम गर्न अनुरोध गरेको भए पनि कम्पनिले त्यसको अटेर गरेको उनको भनाई छ भनाई छ । निर्माणकार्य अन्तिम चरणमा पुग्दा समेत आयोजनाले स्थानीय सरकारलाई तिर्नुपर्ने ढुंगा, गिट्टी, बालुवाको कर समेत नबुझाएको गाउँपालिका अध्यक्ष सुनुवारले गुनासो गरे । आयोजनाका सल्लाहकार अध्यक्ष डिल्लीराम गिरीले भने स्थानीयको सहयोगकै कारण आयोजना अहिलेको अवस्थासम्म आइपुगेको र निरन्तर सहकार्य गरी अगाडी बढ्न तयार रहेको बताए ।
आयोजनाबाट भएका कमजोरी सच्याउँदै स्थानीय सरकार र नागरिकसँग सहकार्य गरेर अघि बढ्न सँधै तयार रहेको उनको भनाई छ । विभिन्न बैँक र वित्तीय संस्थाको लगानीमा रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु खोलामा दुगड ग्रुपले तीनवटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । रामेछापको उमाकुण्ड गाउँपालिकामा निर्माण हुने ती आयोजनामा कुल १ सय ५७ मेगावाट विद्युत उत्पादन गर्नेगरी काम भइरहेको छ । लिखु ए, लिखु–१, २ मा एमभी दुगडको करिब २१ अर्ब रुपैँया लगानी हुँदैछ । निर्माणाधीन ‘लिखु ए’ जलविद्युत आयोजनाबाट २९.०४ मेगावाट, लिखु १ बाट ७७ मेगावाट, र लिखु २ बाट ५५ मेगावाट विद्युत उत्पादन हुनेछ । ‘
आयोजना प्रभावित भन्छन्-हाइड्रोले उठिबास लगायो,मजदुर भन्छन्-हाइड्रोले ज्याला दियन
- प्रकाशित मिति: बुधबार, असार २४ २०७७
- तामाकोशी