रामेछाप । असार १० गते,
रामेछापको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ६० करोड १५ लाख ११ हजार ४ सय ६० रुपैयाँको बजेट तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाले कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेको राखेर बुधबार उक्त बजेट तथा कार्यक्रम ल्याएको हो । कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएकाहरुलाई रोजगारको अवसर बढाउने भन्दै नगरपालिकाले कृषि र रोजगारलाई पहिलो प्राथमिकतामा राखेको हो । कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउदै नागरिकको जीवनस्तर सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नीति तथा कार्यक्रममा प्राथमिकता साथ राखिएको छ । नगर उपप्रमुख सृजना खड्काले सातौं नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण विदेश तथा स्वदेशमा जागिर गुमाएका तथा बेरोजगार युवालाई व्यावसायीक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्न युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । कृषि र पशुपालन क्षेत्रबाट रोजगारीका अवसर सृजना गर्न सकिने भन्दै आउदो बर्षका अधिकांस कार्यक्रम कृषि र पशु पालन तर्फ केन्द्रित गरिएको छ । यसैगरी कोरोना रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने योजनालाई प्राथमिकता दिइएको छ ।
कोभिड–१९ को कारण पठनपाठनमा सिर्जना भएको अवरोधलाई मध्यनजर गर्दै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण गरिने, जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिने, कृषि र पशुपालनलाई व्यवसायिक बनाउने ,खेलकुद , लोक सेवा तयारी कक्षा सन्चालन, स्थानिय सन्चार माध्यमहरुको विकास र प्राथमिकता, होमस्टे सन्चालन, ठाउँठाउँमा पानी संकलन गर्नका लागी पोखरीहरु बनाउने लगायतका महत्वपुर्ण योजनाहरुलाई नगरको कार्यक्रममा प्राथमिकता दिइएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न सातौँ नगर सभामा प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पौडेल , ९ वटै वडाका वडाअध्यक्ष, वडा सदस्य लगायत कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
रामेछाप नगरपालिकाको सातौ नगरसभा यसरी भएको थियो फोटो हेर्नुहोस्
