रामेछाप । असार ३ गते,
रामेछापको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले दुगड ग्रुपले पैसा र पहुँचका भरमा गाउँपालिकामा दादागिरी गरी जनतालाई त्रसित बनाएको आरोप लगाएका छन् । दुगड ग्रुपको लगानीमा रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु खोलामा तीन वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । सो आयोजना निर्माणका क्रममा दुगडले स्थानीयलाई निकै दुःख दिएको गाउँपालिका अध्यक्ष सुनुवारको आरोप छ । ती आयोजनामा कुल १ सय ५७ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम भइरहेको छ । ‘हामीले पटक पटक स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्न अनुरोध गर्दा वास्ता गरेनन्, जनप्रतिनिधिलाई भुसुना बराबर पनि गन्दैनन्,पैसा र पहुँचको भरमा दुगडले दादागिरी गरेको छ’ ( रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्ष सुनुवारले भने ।
लिखु खोलामा पाँचवटा जलविद्युत परियोजना निर्माणाधीन छन् । तीमध्ये लिखु ए, लिखु–१, २ मा एमभी दुगड ग्रुपले लगानी गरेको छ । करिब २१ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेका तीन वटै आयोजनाको निर्माण कार्य आगामी एकवर्ष भित्र सक्ने लक्ष्य छ । निर्माणाधीन ‘लिखु ए’ जलविद्युत आयोजनाबाट २९.०४ मेगावाट, लिखु १ बाट ७७ मेगावाट, र लिखु २ बाट ५५ मेगावाट विद्युत उत्पादन हुने छ । आयोजना निर्माण थालेदेखिनै स्थानीयलाई पेलेर लगेको गाउँपालिका अध्यक्ष सुनुवारको गुनासो छ । स्थानीयलाई मुआब्जा दिने, सामुदायिक उत्तरदायित्वको रकम खर्च गर्ने, सामान लैजाने बाटो प्रयोग गर्ने लागायतको काममा आयोजनाले स्थानीयलाई आतंकित बनाएर काम गरेको उहाँको आरोप छ । ‘२१ अर्ब रुपैया लगानी र एकाध व्यक्तिको सुरक्षाका लागि २५ हजार जनता र सिङगो गाउँपालिकालाई दुगड ग्रुपले देखाएको दादागिरी टुलुटुलु हेरेर बस्न सक्दीन , दुगड ग्रुप दादागिरीका विरुद्धमा आफ्नो ज्यान बलिदान दिन तयार छु ’ गाउँपालिका अध्यक्ष सुनुवार भन्छन् ।
आयोजनाले स्थानीयको हितविपरित काम गरेको भन्दै काममा समेत बारम्बार अवरोध हुँदै आएको छ । स्थानीयको मागलाई वेवास्ता गर्दै आयोजनाले प्रहरी, प्रशासन र उच्च तहको नेतृत्व लगाई पेलेर गएको अध्यक्ष सुनुवार बताउन् । पछिल्लो समय कोरोना संक्रमण बीच पनि बाहिरबाट कामदार र गाडीमा मानिस ल्याएर स्थानीयमा कोरोना संक्रमणको खतरा बढाएको सुनुवारले बताए । उनले पावर र पैसाको सो गरेर अहिले आफुलाई एक्लो बनाएर दुगड ग्रुपले दादागिरी मच्चाइरहेको बताए । आयोजनाको सामान ओसार्न बनाएको सडकमा ठूला गाडी गुडाएर बिगारेपछि अहिले सार्वजनिक यातायात चल्ने अर्को कच्चि सडकमा लोड गाडी गुडाएर सो क्षेत्र जाने सडक नै बिगारिदिएको उनले बताए । आयोजनाका ठूला गाडी गुडाएर सडक बिगारेको भन्दै ठोसे सिंगटी सडक खण्डमा गुडाइएका आयोजनाका गाडीलाई स्थानीयले तोडफोड समेत गरेका थिए । ‘आयोजनाले आफ्नो व्यवसायीक स्वार्थबाहेक केही पनि हेरेन’( सुनुवारले भने । आयोजनाले सामाजिक उत्तरदायित्वको रकम समेत आफ्नो हितमा मात्र खर्च गरेको उनले बताए । अध्यक्ष सुनुवारले सामाजिक उत्तरदायित्वको रकम कहाँ कसरी खर्च गरेको भन्ने कुरा समेत सार्वजनिक नगरेको बताए । कति रकम खर्चभयो, कति बाँकी छ भन्नेबारे स्थानीय र गाउँपालिकालाई कुनै जानकारी नदिएको उनको भनाई छ । अहिले विद्युत प्रशारण लाइनका लागि टावरको काम भइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन समेत सार्वजनिक नगरी टावरको जग्गा पर्ने स्थानीयलाई पहिला फकाउने र नमाने धम्क्याउने हिसावले काम गरिरहेको उनले बताए । आयोजनाका कर्मचारीले बलमिच्याईं गरेको निवेदन गाउँपालिकामा आउने गरेको उनले बताए । सो विषयमा सरोकारवाला निकायमा जानकारी गराउँदा पनि त्यति चासो नदिएको आरोप उनको छ । लकडाउनको समयमा काम गर्दा केही समस्या भए पनि आयोजनाले भरसक सावधानी अपनाएको उनले बताए । तर ठूलो आयोजना भएकाले मानिसको चाप बढी नै भएको उनको भनाई छ । यस बिषयमा के गर्न सकिन्छ बसेर छलफल गरी समस्याको समाधान तत्काल निकाल्नु पर्ने उहाँको भनाइ उनको भनाई छ ।
दुगड ग्रुपद्धारा निर्माणाधिन जलविद्युत आयोजना
