नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन भएको खुसियालीमा रामेछापमा दीप प्रज्वलन

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३१ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ३१ गते,
लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको खुसियालीमा रामेछापमा दीप प्रज्वलन गरिएको छ । अनेरास्वबियू जिल्ला कमिटी रामेछाप र राष्ट्रिय युवा संघ नेपालले मन्थलीमा दीप प्रज्वलन गरी खुसियाली मनाएको छ । सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा राखेर चारैतिरबाट दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलन कार्यक्रममा नेकपाका जिल्ला र पालिका स्तरीय नेता ,अनेरास्वबियू जिल्ला कमिटी रामेछाप र राष्ट्रिय युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
दीप प्रज्वलन गर्दै अनेरास्वबियू जिल्ला कमिटी रामेछापका अध्यक्ष सागरहरि अधिकारीले वर्तमान सरकारको आटले लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गराउन सफल भएको बताए । उनले नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक संसदमा उपस्थित सबै सांसदहरुले पक्षमा मत दिएर सर्वसम्मत पास गरेको ऐतिहासीक दिनमा सबै नेपालीलाई खुशी बताएको बताउँदै दीप प्रज्वलन कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे ।
यसअघि शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे । सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

दीप प्रज्वलन फोटो फिचर