एकै दिन सुदूरपश्चिममा ३७ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २६ २०७७
  • तामाकोशी

धनगढी – सुदूरपश्चिममा एकै दिन ३७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको पशुरोग अन्वेषण प्रयागशालामा परीक्षण गरिएका थ्रोट स्वाबका नमुनामध्ये कञ्चनपुरका १९, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका १ जना गरी ३७ जनामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर २, ६ र ९ का १३ जना, भीमदत्त नगरपालिका २, ६, १७ र १८ नम्बर वडाका ५ जना र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का एक जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै दार्चुलाको शैल्यशिखर गाउँपालिकाका ८ जना, लेकमका १ जना र महाकाली नगरपालिकाका १ जना गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए । डडेल्धुराको जोगबुडाका ३, अमरगढी नगरपालिकाका २ जना र नवदुर्गा गाउँपालिकाका ७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कैलालीको जानकी गाउँपालिकाका १ जनामा कोरोना पुष्टी भएको छ ।



सुदूरपश्चिममा एकै दिन ३७ जनामा कोरोना पुष्टि भएको पहिलो पटक हो । सोमबार ३७ जना भेटिएसँगै सुदूरपश्चिममा कोराना संक्रमितको संख्या १४७ पुगेको छ । अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।