प्रहरी हस्तक्षेप ! काठमाडौंमा दलित विद्यार्थीकाे प्रदर्शन

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २६ २०७७
  • तामाकोशी

काठमाडौं, २६ जेठ । रुकुम पश्चिमको सोती हत्याकाण्डको विरोधमा नेपाल दलित विद्यार्थी संघले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर पक्राउ गरेको छ । संघका नेता तथा कार्यकर्ताहरूले सोती घटनाको विरोध र दोषीलाई कारबाहीको माग गरेर आइतबार साँझ काठमाडौंको जोरपाटीमा राँके जुलुसहित प्रदर्शन गरेका थिए । संघको प्रदर्शनमा हस्तक्षेप गरेर प्रहरीले १० जनालाई पक्राउ गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् । विश्वकर्माले प्रहरीद्वारा भएको हस्तक्षेपको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शनमा दमन नगर्न प्रहरीलाई चेतावनी दिएका छन् ।

पक्राउ गरेका दश जना विद्यार्थी नेताहरूलाई प्रहरीले बौद्ध प्रहरी वृत्तमा राखेको छ । प्रहरीले संघका केन्द्रीय अध्यक्ष राजु सुनार, केन्द्रीय सदस्य सुवास बराइली, केन्द्रीय सदस्य सलमान बिसुंखे, दलित संघ काठमाडौं क्षेत्र नम्बर ३ की सभापति कमला नेपाली, नेविसंघका नेता बुद्धिलाल तामाङ, दलित संघ क्षेत्रीय सदस्य रेशम बराइलीसहित अन्य ४ जनालाई पत्रि गिरफ्तार गरेको छ ।



प्रहरीको लाठी प्रहारबाट संघका केन्द्रीय अध्यक्ष राजु सुनारलाई सख्त घाइते भएको कांग्रेसका केन्द्रीय सदस्य विश्वकर्माले बताएका छन् । पक्राउ परेका विद्यार्थी नेताहरूलाई प्रहरीले तीन घण्टापछि छाडिदिएको छ ।