काठमाडौं । जेठ २४ गते,
आइतबारदेखि देशभरको मौसममा क्रमिक रुपमा सुधार आउने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ । वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हने गर्दछ । यस वर्ष औषत समयभन्दा एक साता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्को छ । नेपालमा मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब छ किलोमिटर माथिसम्म प्रवेश हुनुपर्छ । अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ ।
जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहमम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् आर्यालले जानकारी दिए । आइतबार देशका धेरै स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशका धेरैजसो स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
आइतबारदेखि देशभरको मौसममा सुधार आउने
- प्रकाशित मिति: शनिबार, जेष्ठ २४ २०७७
- तामाकोशी