एकैदिन १७ जनामा कोरोना पुष्टि भएपछि रामेछापमा थप सतर्कता

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २४ २०७७
  • तामाकोशी

रामेछाप । जेठ २४ गते,
लकडाउनले बन्द रहेका मन्थलीका पसल व्यवसाय शुक्रवार ८ घण्टा बढी खुले । ७४ दिन भन्दा बढी समयपछि आफ्नो पेशा व्यवसाय संचालन गर्न पाउँदा बजारका अधिकांस व्यवसायीहरुमा छुटेटै खालको खुशीयाली थियो । लकडाउन जारी भएको ७४ दिनपछि मन्थली बजार क्षेत्रका होटेल , शैलुन र व्युटिपार्लर बाहेकका पसल व्यवसाय संचालन गर्ने जिल्ला स्तरीय संकट व्यवस्थापन समितिले लकडाउनको ७३ औँ दिन निर्णय गरेको थियो ।

सोहि निर्णय अनुसार शुक्रबार बिहानैदेखी मन्थली बजारका अधिकांस पसल व्यवसायहरु संचालन भएका थिए । बजारका व्यवसायीहरुले धेरैले ग्राहकका लागि हातधुने साबुन पानी र सेनिटाइजरको समेत व्यवस्था गरी आफ्नो पसल खोलेका थिए । तर ७४ औँ दिनपछि खोलिएका पसल व्यवसाय ८ घण्टा पनि खुल्न नपाई फेरी पहिलकै अवस्थामा फर्किएको अथवा बन्द भएको छ ।



स्थानीय प्रशासनको निर्णय अनुसार शुक्रबार मन्थली बजारका सबै पसल खुला भए तर शुक्रबारनै रामेछाप स्थायी घर भई जुम्लामा कार्यरत एक जना सहित रामेछापका १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रशासनले बजारमा थप कडाई गर्ने निर्णय गरेको छ ।

जिल्लामै पहिलो पटक भारतबाट आएर विभिन्न स्थानको क्वारेन्टिनमा बसेका १७ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएपछि जिल्लाभरनै थप सर्तकता अपनाउँन जिल्ला प्रशासनले विभिन्न निर्णय गरेको छ । जेठ २४ गते शनिबारदेखि अत्यावश्यक खाद्यान्न , दुध, फलफूल , तरकारी पसल , ग्यास डिपो बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै खुलाउने र अन्य क्षेत्रमा थप कडाई गर्ने प्रशासनले जनाएको छ । यस्तै बैंक , वित्तिय संस्था ,बिमा , धितोपत्र , सहकारीले अति आवश्यकीय सेवा प्रवाह गर्दा आवश्यक कर्मचारीको एकतिहाई कर्मचारी मार्फत बिहान १० बजेदेखी दिउँसो १ बजेसम्म सेवा संचालन गर्न पाउँने छन्

प्रशासनले शुक्रवार राति एक सूचना प्रकाशित गरी संक्रमित बसेको क्वारेन्टिन र आसपासको क्षेत्रलाई आवश्यक स्वास्थ्य सतर्कताको लागि सिल गरी आसपासकाका नागरिकहरुलाई संर्तक रहन आग्रह गर्दै ती स्थानमा एम्बुलेन्स बाहेकका कुनै पनि सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगालाउने जनाएको छ । रामेछापकि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गर्नु भएको सुचनामा संक्रमण फैलिन नदिन संक्रमित भेटिएको स्थानमा नेपाल प्रहरीले गस्ती गरिने उल्लेख गरिएको छ । भने संक्रमितको जिल्ला अस्पतालको आइसोलेसनमा राखि उपचार गरिने भएको छ ।