रामेछाप । जेठ २४ गते,
शुक्रबार रामेछापका कोरोना संक्रमण पुष्टि भएका १७ जना मध्य गोकुलगंगा गाउँपालिकाका ११ जनालाई गाउँपालिकाले पीसीआर रिपोर्ट आउँनु अघिनै आ–आफ्नै घरमा पठाएको खुलासा भएको छ । रिपोर्ट पोजेटिभ आएकाहरुलाई शुक्रबार बिहान ११ बजे नै गाउँपालिकाले घर पठाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार उनीहरुको स्वावको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई पुनः क्वारेन्टाइनमा ल्याइएको छ । भारतबाट आफ्नो घर आएर क्वारेन्टाइनमा बसेका उनीहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै गाउँपालिकामा अपुष्ट जानकारी आएपछि उनीहरुलाई घर पठाइएको बताइएको छ । गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएपछि उनीहरुले घर परिवार, आफन्त र साथीहरुसँग भेटभाट गर्नुका साथै बजारमा गएर कपडा किनमेल समेत गरेको स्थानीले जानकारी दिएका छन् ।
यता गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले भने उनीहरुलाई नछोडिएको र गाउँपालिकाकै क्वारेन्टाइनमा आफ्नो निगरानीमा राखिएको दाबि गरेका छन् । अध्यक्ष सुनुवारले कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकाहरुलाई रिपोर्ट आउनु अगाडिनै घर पठाइएको भन्ने कुरामा सत्यता नरहेको बताए ।
तर रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने संक्रमित व्यक्तिहरुलाई शुक्रबार बिहानै नभै दिउँसो २ बजे छाडिएको स्वीकार गरिन् । प्रमुख जिल्ला अधिकारी शर्माले घर पठाइएकाहरुको स्वावको रिपोर्ट पोजेभिट आए लगत्तै गाउँपालिकाले पुनः उनीहरुलाई सम्पर्क गरी उनीहरुले भेटेका परिवार लगायत लाई समेत आवश्यक सुरक्षा सर्तकता सहित क्वारेन्टाइनमा राखिसकेको जानकारी दिइन । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । यस्तै शनिबारदेखि अत्यावश्यक खाद्यान्न , दुध, फलफूल , तरकारी पसल , ग्यास डिपो बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै खुलाउने पनि जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । यस्तै बैंक , विक्तिय संस्था ,बिमा , धितोपत्र , सहकारीले अति आवश्यकीय सेवा प्रवाह गर्न आवश्यक कर्मचारीको एकतिहाई कर्मचारी मार्फत बिहाद १० बजेदेखी दिउँसो १ बजेसम्म सेवा संचालन गर्न पाउँने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।
