रामेछाप । जेठ १९ गते,
रामेछापमा क्वारेन्टिमा बस्नेको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ । जिल्लाको विभिन्न पालिकाहरुमा भारत लगाएतका विभिन्न ठाउँबाट मानिसहरु आउनेक्रम बढेसंगै क्वारेन्टिनमा बस्नेको संख्या पनि बढ्दै गएको हो । सोमबारसम्म जिल्लाको विभिन्न पालिकाहरुमा क्वारेन्टिनमा बस्नेको संख्या १ सय ८६ पुगेको छ । अहिले उमाकुण्ड गाउँपाकिलामा १५ , मन्थली नगरपालिकामा ४७ , रामेछाप नगरपालिकामा २१ , गोकुलगंगा गाउँपालिकामा २३, खाँडादेवी गाउँपालिकामा २३ , सुनापति गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा १६ र लिखुतामाकोशी गाउँपालिकामा ३६ जना गरी १ सय ८६ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए । कर्णका अनुसार जिल्लाभर १ सय २९ जना सामुदायिक क्वारेन्टिन र ५७ जना होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति रामेछापले जिल्लामा क्वारेन्टिनमा बस्नेको संख्या बढ्दै गएको भन्दै एक हप्ताभित्र प्रत्येक पालिकामा कम्तीमा एक एक सय क्वारेन्टिन बनाउँने निर्णय गरेको थियो । तर निर्णय भएको एक हप्ता पुग्नै लाग्दा पनि जिल्ला स्वाथ्य कार्यालयको तथ्यांक अनुसार कुनै पनि पालिकाले क्वारेन्टिन थप गरेका छैन् ।
रामेछापमा क्वारेन्टिनमा बस्नेको संख्या १ सय ८६ पुग्यो
- प्रकाशित मिति: सोमबार, जेष्ठ १९ २०७७
- तामाकोशी