रामेछाप । जेठ १९ गते,
रामेछाप जिल्लाको सबै स्थानीय तहको केन्द्र सदरमुकाम मन्थली बजार क्षेत्रको सडकमा गरिएको कालोपत्र कमसल भएको स्थानीयहरुले गुनासो गरेका छन् । मुख्य बजार क्षेत्र देवकोटा चोकबाट जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क निस्कने सडक कालोपत्रे भएर गाडी संचालन हुन थालेको ३ महिना नपुग्दै ठाउँठाउँमै भत्किन थालेपछि स्थानीयहरुले कमसल काम भएको भन्दै गुनासो गरेका हुन् । देवकोटा चोकबाट बसपार्क सम्म एक हजार ८ सय मिटर सडक निकै लामो समय लगाएर मन्थली नगरपालिकाले चौडा गरी कालेपत्रे गरेको थियो ।
तर निर्माण कम्पनीले कालोपत्रको कमसल काम गरेकै कारण ९० दिन नपुग्दै सडकको ठाउँठाउँमा ठुला ठुला खाल्डो बन्न थालेको स्थानीयको गुनासो छ । मन्थली बजार क्षेत्रमा सडक सानो र बजार क्षेत्र निकै व्यस्त भएपछि दुर्घटना बढ्न सक्ने भन्दै सुरक्षाका लागि गत फागुन महिनाबाट एकतर्फी सो सडकबाट गाडी गुड्दै आएको छ ।
तर जिल्लाका सबै प्रमुख कार्यालयहरु, सम्बन्धीत सबै सरोकारवाला निकाय रहेको ८ वटा पालिकाको केन्द्रको मुख्य मन्थली बजार क्षेत्रमै यस्तो कमसल काम हुँदा पनि कसैको खासै ध्यान जान सकेको छैन । यसबारेमा मन्थली नगरपालिकाले सडक कालेपत्रेको काम कमसल नभएको दावि गरिरहेको छ । मन्थली नगरपालिकाका इन्जीनियर डिल्ली अधिकारीले काम कमसल नभै चिसो मौसममा कालोपत्रे गरिएकाले सडकको कालोपत्रे उप्किएको बताए ।
उनले कालोपत्रे गरिएको सडकमध्ये मन्थली नगरपालिका मुनी करिब १ सय ५० मिटर दुरीमा मात्रै समस्या भएको र ती ठाउँमा तत्काल पुनः निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम गर्ने समेत बताए । उनले निर्माण कम्पनीले निर्माण सम्पन्न गरिसकेपछि काम जिम्मा लगाएको एक वर्षसम्म समस्या आएमा पुनः मर्मत गर्नुपर्ने नियम भएकाले सोहि नियम अनुसार निर्माण कम्पनीले काम गर्ने बताए ।
निर्माणको ठेक्का पाएको कम्पनीले तत्काल मर्मत गर्ने बताएको र यदि काम नगरे नगरपालिकाको अधिनमा रहेको सो कम्पनीको डिपोजिट र बैंक ग्यारेन्टी रकम मार्फत अन्य निकायबाट काम गर्न सकिने उनको भनाई छ । सो सडक गत माघ माघ १५ गते सम्पन्न गर्ने गरी ४ करोड १७ लाख ७१ हजार रुपैयाँमा खाम्पाचे नाइल जेभी कन्स्ट्रक्सनले ठेक्का परेको थियो । तर सो कम्पनीले गत पुष मसान्तमा ४ करोड ३ लाख ६९ हजार रुपैयाँ लागतमा सडक कालोपत्रेको काम सम्पन्न गरेको थियो ।
मन्थली नगरपालिकाका इन्जीनियर डिल्ली अधिकारीका अनुसार २०७७ माघ सम्म सडक कालोपत्रेमा कुनै समस्या आए ठेक्का सम्पन्न गर्ने निर्माण कम्पनीले मर्मत गर्नुपर्छ । सोहि अनुसार मन्थली नगरपालिकाले सडक कालोपत्रेका काम गर्ने खाम्पाचे नाइल जेभी कन्स्ट्रक्सनसंग कुरा गरेको र निर्माण कम्पनीले मौसम सुधार भएपछि काम गर्ने उनको भनाई छ ।
गाडी संचालन भएको तीन महिनामै यसरी ठाउँठाउँमै भत्किएको छ सडक ।

