खैरेनीघाट–राकाथुम–गाल्बा–दोरम्बा–टोकरपूर सडकमा कालोपत्रेको काम सुरु

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १८ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १८ गते,
रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका वडा न.१ राकाथुमको लुबु चपाडी बिचको खण्डमा खैरेनीघाट–राकाथुम–गाल्बा–दोरम्बा–टोकरपूर सडकको कालोपत्रे गर्ने कार्य सुरु भएको छ । २०७७ जेठ १७ गते शनिबारबाट सडक कालोपत्रे कार्य सुरु भएसंगै राकाथुमबासी लगायत सडक उपभोग गर्ने सम्पूर्ण नागरिकहरु खुशी भएका छन ।
खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका वडाध्यक्ष बिष्णु कुमार श्रेष्ठले अहिले सडक कालोपत्रे गर्ने कार्य धमाधम भैरहेको बताए । वडाध्यक्ष श्रेठले अहिले संघीय सरकारको १ करोड ५० लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट प्राप्त २ करोड रुपैयाँ रकमबाट सडकको कालोपत्रे लगायत अन्य काम संचालन भैरहको जानकारी दिए । उनले एक किलोमिटर सडक कालोपत्रे गर्नलाई झण्डै दुई करोड ५० लाख खर्च लागत लाग्ने देखिएकाले चालु आर्थिक बर्ष २०७६÷०७७ मा १८ सय किलोमिटर मात्रै सडक कालोपत्र हुने अनुमान गरे ।
सिङगो रामेछाप जिल्लाको आवश्यकता र चासोको यो सडक कालोपत्रे गर्नका लागि आगामी आर्थिक वर्ष २०७७÷०७८ मा पनि संघीय सरकार र बागमती सरकारबाट सहयोग हुने आश्वसन आएको अध्यक्ष श्रेष्ठको भनाई छ । यसका लागि जिल्लाबाट संघमा प्रतिनिधित्व गर्ने सांसद श्याम कुमार श्रेष्ठ ( कुशल )र बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेल सकरात्मक रहेको वडाध्यक्ष श्रेष्ठको भनाई छ । उनले वास्तवमा धेरै वर्षदेखिको जन आपेक्षालाई पुरा गर्न संघीय सांसद श्रेष्ठ र बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलको ठुलो योगदान र भुमिका रहेको बताए । अहिले यो सडकमा संघीय सरकारबाट प्राप्त १ करोड ५० लाख रुपौयाँबाट सडक डिभिजन कार्यालय खुर्कोट र बागमती प्रदेश सरकारबाट प्राप्त २ करोड रुपैयाँ रकमबाट पुर्वाधार विकास कार्यालय मन्थली ,रामेछापले सडक कालोपत्रे लगायतका काम गरिरहेको छ ।