रामेछापमा क्वारेन्टिनमा बस्नेको संख्या १ सय २४ पुग्यो

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १४ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १४ गते,
रामेछापमा क्वारेन्टिमा बस्नेको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ । जिल्लाको विभिन्न पालिकाहरुमा भारत लगाएतका विभिन्न ठाउँबाट मानिसहरु आउनेक्रम बढेसंगै क्वारेन्टिनमा बस्नेको संख्या पनि बढ्दै गएको हो । बुधबारसम्म जिल्लाको विभिन्न पालिकाहरुमा क्वारेन्टिनमा बस्नेको संख्या एक सय २४ पुगेको छ । अहिले उमाकुण्ड गाउँपाकिलामा २२ , मन्थली नगरपालिकामा २९ , रामेछाप नगरपालिकामा ७ , गोकुलगंगा गाउँपालिकामा १७ , खाँडादेवी गाउँपालिकामा २० , सुनापति गाउँपालिकामा ४ , दोरम्बा गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा २२ जना गरी १ सय २४ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ । क्वारेन्टिनमा बस्नेको संख्या बढेसंगै जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले अबको एक हप्तामा जिल्लाको प्रत्येक पालिकामा एक एक सय शैयाको क्वारेन्टि कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।