रोछापका ६ जनाको पीसीआर रिपोर्ट अझै आएन

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १२ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १२ गते,
रामेछाप जिल्लामा आरडिटी पोजेटिभ आएका ६ जनाको पीसीआर रिपोर्ट अझै आएको छैन । जिल्लामा चार दिन अघि गत शुक्रबार आरडिटी विधिबाट गरिएको कोरोणा परीक्षणमा पाँच जना र शनिबार फेरी थप एकजनाको रिपोर्ट पोजेटिभ आएको थियो । आरडिटी पोजेटिभ आएका पाँच जनाको शुक्रबार र एक जनाको शनिबार पिसिआर विधिबाट कोरोणा परीक्षण गर्न स्वाब संकलन गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो । त्यसको रिपोर्ट सोमबार दिउँसोसम्म आएको छैन । तर चार दिनसम्म रिपोर्ट नआउदा जिल्ला बासी थप चिन्तित बनेका छन् । जिल्ला सदरमुका मन्थली लगाएत सिङगो जिल्लानै राम्रो रिपोर्ट आउने प्रतिक्षामा छन् । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले सोमबार पनि रिपोर्ट आउने संभावना कम रहेको बताए । उनले स्वाब पठाइएको अस्पतालमा परीक्षण गर्नेहरुको चाप बढि भएको जानकारी आएकाले रिपोर्ट आउने समय बारे अहिले भन्न नसकिने बताए । गत शुक्रबार मन्थली नगरपालिकामा ४ जना र सुनापति गाउँपालिका एक जना र शनिबार मन्थली नगरपालिकामा एक जनाको आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । २०७७ जेठ ११ गते आइतबारसम्म जिल्लामा ३५ जनाको पिसिआर र ५ सय ९४ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछापमा गएको वैशाख २ गते सोमबारदेखी  आरडिटी परीक्षण सेवा सुरु भएको थियो थियो ।