पदिय शक्तिको दुरुपयोग गरी प्रशासनको सिलको बेवास्ता , प्रशासन गैरजिम्मेवार जवाफ दिदै

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १० २०७७
  • तामाकोशी

रामेछाप । जेठ १० गते,
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव घिमिरेले आफ्नो पदीय शक्तिको दुरुपयोग गरि आफ्नो अपराधलाई लुकाउन प्रशासनलाई समेत टेरेनन् । पदीय शक्तिको दुरुपयोग गरि आपूmले गरेको अपराध प्राविधिक रुपमा लुकाउन घिमिरेले जिल्ला प्रशासनले आफ्नो पेट्रोल पम्पमा लगाएतको सिलको मतलबै नगरी सिल गरैकै रात पम्पमा १२ हजार लिटर डिजेल खनाएका छन् । उनको यस्तो कार्यका बारेमा प्रशासन बेखबर बनिरहेको छ । घिमिरेले मन्थली स्थित भैसैश्वरमा संचालन गरेको लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका १ सय वटा भन्दा बढी मोटरसाइकलको कार्पेटर तथा इन्जीनमा समस्या आएपछि सो पम्पमा प्रशासनले विहिबार सिल गरेको थियो । तर विहिबार रातिनै प्रशासनको सिलको मतलब नराखी डिजेल खन्याए पछि प्रशासनले शुक्रबार पेट्रोलको स्यापल निकालेर पुनः सिल गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत भाष्कर दाहाल नेतृत्वको टोलीले बिहीबार साँझ घिमिरेले संचालन गरेको लक्ष्मी आयल स्टोर्समा सिल गरेको थियो । पेट्रोलमा मिसावट गरेर बिक्री गर्दा मोटरसाइकलको कार्पेटर तथा इन्जीनमा समस्या आएको पत्ता लागेपछि प्रशासनले सो आयल स्टोर्सलाई सिल गरेको थियो । तर प्रशासनले पम्पको नोजल मात्रै सिल गरेको र पेट्रोल तथा डिजेल स्टोर गर्ने टयांकीमा सिल नगरेका कारण घिमिरेलाई आफ्नो काला कर्तुतको प्रमाण नष्ट गर्न सजिलो भएको छ । प्रशासनले सिल गरेपछि प्रशासनको अनुमतिविना पेट्रोलियम पदार्थ बिक्री गर्न र थप स्टोर गर्न पाइदैन । तर यसको मतलबनै नगरी लक्ष्मी आयल स्टोर्सले रातारात पम्पको ट्यांकीमा नयाँ डिजेल ल्याएर थपेको छ । प्रशासनको अनुगमन टोलीले नोजलमा ताला लगाइदिए पनि डिजेल नझार्नु भन्ने निर्देशन नदिएको ब्यवसायि गोमा कार्कीले दावि गरिन् । प्रशासनले डिजेल र पेट्रोल एकै पटक आएमात्रै ट्यांकीमा नर्भन भनिएकाले १२ हजार डिजेल मात्रै स्टोर टयांकीमा हालिएको उनले बताइन ।
यता जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत भाष्कर दाहालले भने प्रशासनको अनुमतिविना डिजेर र पेट्रोल दुवै नझार्न भनिएको बताएका छन् । सिल गरिएको पम्पमा प्रशासनको अनुमतिविना ब्यवसायिले रातारात डिजेल भर्नुले सो आयल स्टोर्सप्रति थप शंका उब्जिएको दाहालले बताए । बिहीबार अनुगमनमा जाँदा पम्पको नोजन बिग्रिएको ब्यवसायिले बताएको र शुक्रबार बिहान जाँदा सही रुपमा चलिरहेको पाइएको भन्दै पम्प सञ्चालकले प्रशासनलाई समेत छलछाम गरेको दाहालले बताए । बेलुका सिल गरेर हिडेको पम्पमा बिहान आएर हेर्दे पेट्रोल तान्ने नोजलको मोटर घुमाउने फित्ता खुस्काएर अन्यत्रै राखिएको अवस्थामा पाइएको र डिजेल पेट्रोल स्टोर गर्ने टयांकी समेत सफा गरेको अवस्थामा पाइएको प्रशासकीय अधिकृत दाहालको भनाई छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेव शर्माले पम्पको स्याम्पल परीक्षणका लागि पठाइएकाले रिपोर्ट आएपछि मात्रै के हो भन्न सकिने बताइन् । उनले सिल गरिसकेपछि पनि डिजेल हालिएको बिषयमा पम्पमा स्टक तेल भएको र पछि डिजेल थपिएपनि परीक्षणका लागि कुनै समस्या नहँुने बताइन् । लक्ष्मी आयल स्टोर्सको स्याम्पल रिपोर्टका बारेमा तामाकोशी अनलाइनले बुझ्दा अहिलेसम्म बुझिनै रहनु भएको छ त , के बुझ्न खोज्नु भको हो ? भन्नुस ? जस्ता गैरजिम्मेवार जवाफ दिइन । प्रशासनको फितलो सिलबन्दीले पम्प सञ्चालकलाई आफ्नो अपराध लुकाउने मौका मिलेको छ । प्रशासनको फिलतो कामले पम्प सञ्चालले गरेको कर्तुतको प्रमाण नष्ट भइसकेको हुनसक्ने आशंका धेरैले गरेका छन् । प्रशासनले सिल गरेको पम्पमा विना अनुमति डिजेल झारिएको सूचना बाहिर आएपछि जिल्ला प्रशासनकै सेटिङमा पम्प सञ्चालकले डिजेल झारेको हुनसक्ने टिप्पनीहरु भइरहेका छन् । पम्पका बारेमा राखिएको जिज्ञासामा प्रमुख जिल्ला अधिकारीको गैरजिम्मेदार जवाफले पनि यसलाई थप पुष्ट्याई गर्छ । लक्ष्मी आयल स्टोर्सले हवाई इन्धन पेट्रोलमा मिसाएर बिक्री गरेको आशंका गरिएको छ । सो पेट्रोल हालेपछि मोटरसाइकल स्टार्ट नै नहुने, स्टार्ट भइहाले पनि पिकअप नदिने र इन्जीनमा बढी भार परेकोजस्तो हुने समस्या आएको मोटरसाइकल धनीहरुको भनाई छ । यदि पेट्रोलमा मिसावट भएको प्रमाणित भएमा पम्प सञ्चालकले लक्ष्मी आयल स्टोर्समा हालेको तेलकै कारण बिग्रिएका १ सय वटा भन्दा बढी मोटरसाइकलहरु बनाइदिनु पर्नेछ । त्यस कारण पनि पम्प सञ्चालक आफ्नो अपराध लुकाउन हरतरहले लागि परेका छन् ।